२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

हरेक शनिबारका दिन प्यूठानको खुङमा स्वयंसेवकहरुको लर्काे

शनिवार , कार्तिक १८, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • प्यूठान, १८ कार्तिक । 
    साप्ताहिक विदा कर्मचारी, गृहस्थ, राजनैतिक तथा सामाजिक कार्यकर्ता सबैले परिवारसँग तथा साथीभाइसँग रमाईलो गरेर बिताउने चलन छ । विश्वका विभिन्न मुलुकमा हप्ताको एक दिन त कुनैमा दुईदिन विदा दिने प्रचलन छ । नेपालमा भने शनिबार विदा दिने प्रचलन छ । यो विदाको समयलाई सदुपयोग गर्ने कि, दुरुपयोग गर्ने अथवा यो विदाको दिनलाई व्यक्तिगत रुपमा उपभोग गर्ने कि सामाजिक रुपमा यो समाज र मानिसमा भर पर्ने गर्दछ ।

    हो, प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ५ मा साप्ताहिक विदाको रुपमा रहने शनिबारलाई स्थानीयहरुले जनश्रमदान अभियानसँग जोडेर सामाजिक विकासमा उपयोग गर्न थालेका छन्  ।  

    शनिबारीय जनश्रमदान अभियान नाम दिएको यो कार्यक्रम कार्तिक १८ गतेको शनिबारसम्म आउँदा १७ औं हप्तामा पुगेको छ । जनश्रमदानले सामाजिक एकता र सहकार्यमा समेत सहयोग पुर्याइरहेको गौमुखी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बरुणध्वज मल्लले बताए । अध्यक्ष मल्लले प्रत्येक हप्ताको शनिबार दुई/तीन घण्टासम्म स्वयंसेवी रुपमा बाटाघाटा, नाला निर्माणको लागि जनता जुटेर काम गरिरहेको बताए ।

    जनश्रमदानले विगतमा दशैं-तिहारको समयमा हुने गरेको झारा प्रथाको स्मरण गराएको सनविक खुङ गाविसका पूर्वअध्यक्ष रेकम गिरीले बताए । जनश्रमदानमा के युवा के वृद्ध अवस्थाका सबै कम्मर कसेर लागेका देखिन्छन् । ६२ वर्षिय धनबहादुर सुनारले विगतमा पनि श्रमदान गरेको तर यतिबेला थप व्यवस्थित भएको बताए ।

    ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने अभियानका साथ साविकको खुङ गाउँका स्थानीयहरुले जनश्रमदान गरिरहेको शनिबारीय जनश्रमदान अभियानका संयोजक निराजन मल्लले बताए ।

    गाउँलेहरु मात्रै नभएर सबै कर्मचारी पनि स्वयंसेवी रुपमा जनश्रमदान अभियानमा सहभागी हुने गरेको गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखाकी कर्मचारी  उषा सुवेदीले बताइन् ।

    वडाले चलाएको अभियानमा उद्यमी व्यवसायीहरुको पनि सक्रिय सहभागीता रहने गौमुखी उद्योग वाणिज्य संघ  ठुलाबेसी बजारका अध्यक्ष जनक केसीले बताए । 

    पहिल पहिले दशैं तिहारको बेला झारा प्रथा हुने गर्दथ्यो । सार्वजनिक महत्वको काममा झारा प्रथामार्फत बाटोघाटो, पुलपुलैसा, मठ मन्दिर, चौपारी, विद्यालयको  काम हुने गर्दथ्यो । तर पछिल्लो समय पारिश्रमिक बिना काम नगर्ने परिपाटी विकास हुँदै गयो ।

    मानिसहरु सानासाना काम पनि स्वयंसेवी भावले नगर्ने, पैसा बिना कामै नगर्ने, सबै काम सरकारले नै गरिदिनुपर्ने भन्ने मनोभावनाको विकास भइरहेको बेला प्यूठानको गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष मल्लले  स्थानीयहरुमा स्वयंसेवी भावना विकास गरी सबैको सहभागीतामा शनिबारीय जनश्रमदान अभियान चलाइरहेका छन् ।

    उक्त अभियानमा वडा पालिकाले स्वतस्फूर्त सबैलाई सहभागी हुन अनुरोध समेत गरेको छ । शनिबार सेल्पेदेखि सुन्दर मेलाको घर्तीधारासम्मको मोटरबाटो मर्मत भएको थियो ।