
आइतवार , कार्तिक १९, २०८०
भैरहवा, १९ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भुकम्पप्रभावित जिल्ला जाजरकोट पुगेका छन् । शनिबार साँझ जाजरकोट पुगेका गृहमन्त्री पाण्डेयले आइतबार जाजरकोट जिल्ला अस्पताल पुगी करिब १० लाख बराबरको औषधी हस्तान्तरण गरेका छन् ।
गृहमन्त्री पाण्डेको सचिवालयका जैनुद्दीन देवानका अनुसार मन्त्री पाण्डेयले भूकम्पमा परी घाइते भइ जाजरकोट अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका छन् । देवानले भने, ‘ मन्त्रीज्यूको नेतृत्वमा ३५ जनाको चिकित्सकको टोली जाजरकोट पुगेको छ । ’
लुम्बिनी प्रदेश सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री पाण्डेयको नेतृत्वमा उद्धार टोली जाजरकोट पुगेको हो । मन्त्री पाण्डेयले आइतबार भुकम्पप्रभावित क्षेत्रको स्थगलगत निरीक्षण गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने शनिबार बसेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयबासीको घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij