२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीले आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने 

आइतवार , कार्तिक १९, २०८०

भैरहवा, १९ कार्तिक ।

रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्पप्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आइतबार बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाबीन, डसना, ब्लाङकेट र २ वर्षदेखि १४ वर्षभित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगायतका सामग्री पठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । 

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलब, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलबवापतको रकमबाट उक्त सामग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए । 

शुक्रबार मध्यराती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ स्थित रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षति पुर्याएको थियो । 

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले विपत्तिमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेको सबै सियारीबासी नागरिकलाई आग्रह गरेका छन् । उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमार्फत भुकम्पपीडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।