२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गोर्खा ब्यायज स्पोर्ट्स क्लबको अधिवेशन सम्पन्न

सोमवार , माघ १९, २०७७

बुटवल, १९ माघ । 
गोर्खा ब्यायज स्पोर्ट्स क्लबको साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमकाबीच अखिल नेपाल फुटबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष भुपेन्द्र विक्रम थापा (पुकार)ले वृक्षारोपण गरी उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाली फुटबलमा धेरै समस्या र चुनौतीहरु रहेको दुःखेसो गरे । क्लब आर्थिक रुपमा सक्षम नभएसम्म फुटबल खेल सबल हुन नसक्ने उनले बताए । एन्फाले अहिले लिभिङ फुटबलको नारालाई अघि बढाएको दावी गर्दै प्रदेशमा रहेका क्लबलाई आर्थिक रुपमा सक्षम बनाउने गरी आफुले योजना अघि बढाउने प्रतिवद्घता जनाए । 

लुम्बिनी स्पोर्ट्स क्लबका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगदिश चन्द आचार्यले खेललाई माया गर्ने, खेलमा प्रतिवद्घहरुको संख्या धेरै भए पनि चाहे जति खेल विकास गर्न नसकिएको दुःखेसो गरे । क्लबका रुपमा मात्र संख्या बढाउने मात्र नभइ क्लबले गर्ने कार्य र गतिविधिका आधारमा सरकारबाट सहयोग गर्ने गरी अघि बढ्नुपर्ने सुझाव दिए । 

बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले गोर्खा ब्यायजसंग समन्वय गरेर धेरै खेलकुद गतिविधि गरेको स्मरण गर्दै फुटबलको विकासमा महत्वपूर्ण योगदान रहेको बताए । नगरभित्र रहेका खेलकुद गतिविधि गर्ने क्लब, मैदानका बारे जानकारी लिने काम गरेको उनले बताए । लामो समयको अध्ययनबाट बुटवलमा ३९ वटा इन्डोर र आउटडोर खेलमैदान भएको तथ्याक अनुगमनका क्रममा देखिएको र १३ वटा पूर्वाधार बनाउन लागेको उनले बताए । 

क्लबका अध्यक्ष दीर्घ बहादुर केसीले रुपन्देहीको फुटबलमा गोर्खा ब्यायज क्लबको अलग्गै पहिचान बनाएको दावी गरे । देशका विभिन्न स्थानमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर राम्रो छवि बनाउन सफल भएको उनले बताए । 

कार्यक्रममा लन टेनिस संघ रुपन्देहीका सचिव गोपाल ज्ञवाली, एन्फा लिगका सदस्य दयाराम सापकोटा, क्लबका महासचिव विष्णु प्रसाद पौडेलले खेल विकासमा स्थानीय सरकारबाट लगानी आवश्यक रहेको बताए । 

गोर्खा ब्यायज स्पोर्ट्स क्लबको साधारणसभा तथा आठौ अधिवेशनले बुद्धि गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ । यसै गरी क्लबको उपाध्यक्षमा दिपिका शाही ठकुरी, दयाराम सापकोटा, हरि पन्थ, महासचिव शंकर मल्लाह, सचिव सुशिल कुमार चौधरी, कोषाध्यक्ष बिर बहादुर दर्लामी, सह–कोषाध्यक्ष सुनिल राना, सदस्य रोशन कुमार श्रेष्ठ, एकु थापा, रिन्जी राना, नारायण श्रेष्ठ, अशोक कुमार थापा, राकेश गुरुङ, विकास गुरुङ, हिमाल कला थापा, प्रकाश प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सुमन अधिकारीले बताए ।