२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

तामनगर खानेपानीको १५ औं साधारणसभा 

बुधवार , कार्तिक २२, २०८०

बुटवल, २२ कार्तिक । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगर राजपुर खानेपानी तथा सरसफाई संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘खानेपानीको शुद्धता आजको आवश्यकता, मुहानदेखि घरसम्म स्वच्छ पानीको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २०६४ सालमा स्थापना भएको सो खानेपानी संस्थामा १ हजार २ सय भन्दा बढि घरधुरी उपभोक्ता रहेका छन् । 
गत आर्थिक वर्षमा कुल ७४ लाख ६४ हजार ८ सय १० रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको सो खानेपानी संस्थाको साधारणसभामा प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले मानव जीवनमा खानेपानीको महत्व उच्च रहेको बताए । बुटवलका पूर्व नगरप्रमुख तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका प्रदेश सांसद् श्रेष्ठले खानेपानीको विकासमा तीनै तहका सरकार र स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।  

संस्थाका अध्यक्ष जीतबहादुर राहाडीको सभापतित्वमा सम्पन्न सो सभामा खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, बुटवल–१२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्मा, पूर्व वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, खानेपानी महासंघका केन्द्रिय सदस्य सावित्रा रेग्मी, प्रदेश महासचिव शालिकराम भण्डारी, जिल्ला अध्यक्ष धु्रवकुमार धिताल, नगर अध्यक्ष भिमप्रसाद न्यौपाने लगाएतले खानेपानीको आवश्यकता, यसको महत्व र शुद्धताबारे चर्चा गरेका थिए । 

उपाध्यक्ष कल्पना आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा चारपाला सामुदायिक बनका अध्यक्ष जगत शर्मा, सेमलार खानेपानी संस्थाका अध्यक्ष प्रेम पौडेल, नयाँगाउँ खानेपानीका अध्यक्ष रमा पौडेल लगायतले तामनगर राजपुर खानेपानी तथा सरसफाई संस्थाले पुर्याएको योगदानको बारेमा उल्लेख गर्दै आगामी कार्यदिशाका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा सचिव यमकान्त चापागाईं र संस्थाका लेखा समिति संयोजक दीपककुमार श्रेष्ठ र सदस्य मणि खनालले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।