
मंगलवार , माघ २०, २०७७
भैरहवा, २० माघ ।
ट्राफिक व्यवस्थापनको लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन हुन नसक्ने बताए । अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहिया रुपन्देहीले सोमबार आयोजना गरेको सचेतनामुलक कार्यक्रममा बोल्दै संविधानसभा सदस्य इस्तियाक अहमद खानले देशमा उथलपुथल हुँदा बेलहिया नाका लाइफलाइनको रुपमा सावित भएको बताए । उनले मुलुककै दोस्रो ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले पार्किङको समस्यालाई समाधान गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर वि.क.ले पार्किङ व्यवस्थापनमा ध्यान नदिनु खराब प्रवृत्ति भएको बताए । उनले सडकलाई सुरक्षित र शहरलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । ट्राफिक प्रहरीले स्थानीय तह, संघ–संस्था, यातायात व्यवसायी, चालक तथा यातायातसंग सरोकार राख्ने विभिन्न निकायसंग निरन्तर सहकार्य गर्दै आएको बताए ।
‘हामीले एक–अर्कालाई दोष दिने र एक अर्काको समस्या देखाउने भन्दा पनि सामूहिक समस्याको निवारण सामूहिक प्रयासबाट हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ, उनले भने ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले प्रहरीको हरेक पाइलामा नागरिकको सहयोग, साथ, सहकार्य र सुझाव आवश्यक रहेको बताए । उनले स्थानीय तहसंग समन्वय र सहकार्य गर्दै प्रहरी अगाडी बढेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जि.सी.ले भारतीय सवारी चालकले मापसे गरेर सवारीसाधन चलाएको पाइएको बताए । उनले मापसे गरेर सवारीसाधन चलाउनेलाई छुट दिनु भनेको दुर्घटनाको सिकार हुनु भएको बताए । उनले सबै ठाउँमा ट्राफिक प्रहरीको सहज उपलब्धता नभएकोले सबैको सहयोग आवश्यक रहेको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धेरै पर्यटक भित्रिने नाका बेलहिया भए पनि बेलहिया नाकालाई हेर्ने दृष्टिकोण फरक हुनु दुःखद रहेको बताए ।
समाजसेवी देवराज न्यौपानेले १० वर्ष बितिसक्दा पनि इलाका प्रहरी कार्यालय बेलहियादेखि बाइपास सडकसम्मको ६०० मिटर सडक निर्माण कार्यसम्पन्न हुन नसकेको बताए । उनले भन्सार कार्यालयले पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेतले बेलहियामा पार्किङको उचित व्यवस्थापन हुन नसकेको बताए । उनले लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले ट्राफिक व्यवस्थापन महत्वपूर्ण पाटो रहेको बताए । उनले ट्राफिक व्यवस्थापनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
नेपाल भन्सार एजेण्ट महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले बेलहिया नाका अव्यवस्थित रहेको र यसलाई व्यवस्थित गराउन जनप्रतिनिधिको ध्यान पुग्न नसकेको बताए । उनले आइसीपी निर्माणमा ध्यान दिनुपर्ने भन्दै भारतबाट मात्र अपेक्षा गरेर नहुने बताए ।
बेलहिया तथा आसपासका क्षेत्रमा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई सहज गर्नको लागि समुदाय र ट्राफिक प्रहरी मिलेर ट्राफिक व्यवस्थापन लगायत विषयहरुमा छलफल, अन्तरक्रिया तथा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलहियाका प्रमुख प्रहरी सहायक निरीक्षक मधुसुदन बन्जाडेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij