२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

पत्रकार शर्मालाई ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार

शनिवार , कार्तिक २५, २०८०

 तिलोत्तमा, २५ कार्तिक ।

तिलोत्तमा मिडिया क्लबद्वारा स्थापित ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लबले नेपालीहरुको विभिन्न चाडपर्वहरुको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रु. २५ हजार राशीको सो पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं सामाजिक व्यक्तित्व मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो । क्लबका संस्थापक अध्यक्ष लक्ष्मण पौडेल संयोजक, पत्रकार यमलाल भुसाल तथा दुर्गा पौडेल सदस्य रहेको छनौट समितिको सिफारिसका आधारमा क्लबले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । पुरस्कृत शर्मा २०६१ सालदेखि पत्रकारितामा क्रियाशिल छन् । 

शर्मालाई पुरस्कार प्रदान गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई थप उचो बनाउँदै पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन पुरस्कृत शर्मालाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाको पहिचानलाई प्रवद्र्धन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले सहकार्य गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताए ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरिन् । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले यसप्रकारका पुरस्कारले पत्रकारितामा क्रियाशीलहरुलाई प्रोत्साहन गर्ने बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकारिता पुरस्कार पाउनुभन्दा यसको गरिमालाई जोगाइराख्नु ठूलो कुरा भएको भन्दै यसलाई शिरोधार्य मानेर अघि बढ्न सुझाव दिए । 

पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्तावापतको रकमबाट तिलोत्तमा मिडिया क्लबसँग सहकार्य गरेर पुरस्कार स्थापना गरेको उल्लेख गर्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई विस्तार गर्ने योजना रहेको बताए ।

पुरस्कृत पत्रकार टोपराज शर्माले आफूले प्राप्त गरेको पुरस्कार रकममा २५ हजार रुपैयाँ थप गरी आफ्ना बुबाआमाको नाममा अक्षयकोष स्थापना गरी सामूदायिक विद्यालयमा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरे । 

तिलोत्तमा मिडिया क्लबका अध्यक्ष बीपी गौतमको अध्यक्षता तथा सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा पुरस्कार मूल्यांकन समितिका संयोजक तथा संस्थापक अध्यक्ष लक्ष्मण पौडेलले पुरस्कार छनौटका सन्दर्भमा अपनाइएको विधिको बारेमा प्रकाश पारेका थिए ।