२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रथम टिकटक लाइभ खुल्ला गुरुङ नृत्य प्रतियोगिता सम्पन्न

आइतवार , कार्तिक २६, २०८०

रुपन्देही, २६ कार्तिक ।
“तमु क्येए पोँले ,प्ये ताँ ल्हु ताँ ल्वोले“ अर्थात गुरुङ “भाषा बोलौ, संस्कार, संस्कृति सिकौ“ भन्ने मुल नाराका साथ सामाजिक संजाल (@gurungbabita7) टिकटक आइडी ग्रुपबाट प्रथम टिकटक लाइभ खुल्ला एकल तथा युगल नृत्य प्रतियोगिता भर्चुअल रुपमा सम्पन्न भएको छ । 

प्रतियोगितामा सहभागी ३५ जना प्रतियोगीहरुले मौलिक गुरुङ पहिरनमा गुरुङ भाषाका गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सहभागी प्रतियोगीहरुमध्ये क्रमश प्रथम बाँझपाटन पोखराका देवी गुरुङ्ले नगद रु. १५ हजार र प्रमाणपत्र, द्वितीय पोखरा–१३ चिसापानीका एर बहादुर गुरुङ र सकुन्तला गुरुङले नगद रु.१० हजार र प्रमाणपत्र, तृतीय सामूहिक नृत्यमा गोरखा अजिरकोट–४ भाँजेका सुनिता गुरुङ, रोजिना गुरुङ, सुष्मा गुरुङले नगद रु. ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसै गरी प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार काठमाण्डौका ओभि गुरुङले नगद रु. २ हजार र प्रमाणपत्र र भरतपुर–१५ चितवनका नारायण थिम्जे गुरुङ्ले नगद रु. २ हजार प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रम कार्तिक महिनाको १८ गते शनिवार गरिने भनिएता पनि प्राविधिक कारणले हिजो २५ गते शनिबार साँझ ५ बजेदेखि राती ११.३० बजेसम्म भर्चुअल रुपमा @gurungbabita7 TikTok लाइभबाट भएको गुरुङ नृत्य प्रतियोगितामा गुरुङ साँस्कृतिक अन्वेशक निर्देशक कृष्ण कुमार गुरुङ, स्टार्स फाउण्डेशन नेपालका अध्यक्ष, चलचित्र नृत्य निर्देशक कोरियोग्राफर जसु गुरुङ र नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

नृत्य प्रतियोगितामा अतिथिहरु कृष्ण कुमार गुरुङ, जसु गुरुङ, सुन्दर गुरुङ लगायतले सामाजिक सन्जालबाट गरिने यस्ता कार्यक्रमहरुले भाषा संस्कार, संस्कृति सम्बर्द्धन र संरक्षण गर्न नयाँ पिढीलाई सन्देश मिल्ने बताए ।

कार्यक्रममा ग्रुपका सल्लाहकार बौद्ध प्रसाद गुरुङ, ङोलो ङोल्स्यो ग्रुपका अध्यक्ष धन कुमारी गुरुङ र एल.जी. एसोसियसन बेलायतका सल्लाहकार एम. जे (महेन्द्र जंग) गुरुङ, कार्यक्रम संयोजक बबिता गुरुङले शुभकामना मन्तव्य राखेका थिए । सह–संयोजक कृष्ण गुरुङको स्वागत तथा ग्रुपका सद्स्य कुमार गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।