
मंगलवार , माघ २०, २०७७
भैरहवा, २० माघ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय रुपन्देहीको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र उद्योग व्यापार संगठन रुपन्देहीको संयोजनमा उपभोक्ता संरक्षण ऐन तथा बजार अनुगमनबारे अभिमुखीकरण कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ ।
उपभोक्ता संरक्षण ऐनबारे उद्योगी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए । उनले नयाँ नियम ऐनहरुबारे व्यवसायीहरुलाई जानकारी गराएर बजार अनुगमन गरे व्यवसायीहरु थप अनुशासित हुने बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय रुपन्देहीका प्रमुख टेकराज भट्टराईको अध्यक्षता, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता तथा वाणिज्य कार्यालयका नायब सुब्बा नारायण पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहायक प्रजिअ कृष्ण बहादुर खड्का र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय रुपन्देहीका प्रमुख टेकराज भट्टराईले उपभोक्ता सम्बन्धि अधिकार र कानूनी व्यवस्था, वाणिज्य प्रशासनको परिचय र महत्व लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रतिनिधि रमेश पौडेलले उपभोक्ताको अधिकारको ख्याल राख्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद आचार्य, कोषाध्यक्ष दिलिप कान्दु, कार्यसमिति सदस्य अर्जुन कार्की, त्रिलोकी प्रसाद गुप्ता, व्यवसायी मदन प्रसाद पौडेल, कृष्ण प्रसाद घिमिरे, विकास गोयन्का, पत्रकार माधब न्यौपाने लगायतले उपभोक्ता संरक्षण ऐनबारे जिज्ञासा तथा व्यवसाय सञ्चालन गर्दा उत्पन्न भएका समस्याहरुबारे जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij