
मंगलवार , कार्तिक २८, २०८०
भैरहवा, २८ कार्तिक ।
चित्रांश युथ क्लब भैरहवाको आयोजना र श्री चित्रगुप्त युवा सेवा समितिको सहयोगमा भैरहवामा चित्रांश कप–२०८० (क्रिकेट प्रतियोगिता) मंगलबार सुरु भएको छ । चौथो संस्करणको प्रतियोगितामा चित्रांश टाइगर्स, चित्रांश सुपर किंग, पानस–११ र केएफ लायन्स गरी चारवटा टीमको सहभागीता रहेको चित्रांश युथ क्लबका अध्यक्ष सौरभ लाभले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुद र पर्यटन क्षेत्र एक अर्काका परिपुरक भएको बताए । मन्त्री पाण्डेयले चित्रांश युथ क्लबले हरेक वर्ष क्रिकेट प्रतियोगितालाई निरन्तरता दिएको भन्दै खुसी व्यक्त गरे । उनले चित्रगुप्त मन्दिरमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अधिवक्ता दिलिप कुमार मल्लिकले यस्ता प्रतियोगिताले चित्रांश परिवारबीच आत्मीयता बढ्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । चित्रांश युथ क्लबकी सदस्य सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा सञ्चालित प्रतियोगिता अन्तर्गत पहिलो खेल पानस–११ र चित्रांश टाइगर्सबीच भइरहेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रत्येक खेल १२ ओभरको हुने र प्रतियोगिता आजै समापन हुनेछ ।
आगामी वर्ष पनि क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइने श्री चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij