२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

रोटरी बुटवलको बैठकमा बिजनेश एजेण्डामा छलफल

शनिवार , मंसिर २, २०८०

बुटवल, २ मंसिर ।

रोटरी क्लब अफ बुटवलको १४ सय ८७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष करुण खनालको अध्यक्षतामा बसेको बैठकको एजेण्डा बिजनेश रहेको थियो ।

बैठकमा आउँदो डिसेम्बर १ तारिखमा हुने डिजी भिजिट, यही मंसिर ५ गते काठमाडौंमा रोटरी क्लब अफ बुटवलले स्पोन्सर गरेको रोट्रयाक्टर चार्टड प्रोग्राम, जाजरकोट भुकम्पबाट प्रभावित बनेकाहरुका लागि रोटरीले गर्न सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा बोल्दै क्लब मेन्टर अजयमान श्रेष्ठले रोटरीयनहरुलाई क्लबमा टिकाइराख्न फेलोसिप र सर्भिस प्रोजेक्ट महत्वपूर्ण रहेको भन्दै यी दुई कुरालाई नेतृत्वले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने सुझाव दिए । 

बैठकमा सहभागी रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका प्रेसिडेन्ट इलेक्ट, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं अधिवक्ता राजकुमार बैदवारले रोटरीको मर्म र यसको लक्ष्यबारे सबै रोटरीयनहरुलाई बुझाउन नसक्दा क्लब छाड्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई विशेष ख्याल गर्न सके रोटरीको महत्व अझै बढ्दै जाने बताए ।

इन्ट्रयाक्ट क्लब अफ कालिका मानवज्ञान माविका अध्यक्ष दिप्सन अधिकारीले आफूले डिष्ट्रिक इन्ट्रयाक्ट रेप्रिजेन्टेटिभ (डीआइआर) का लागि उम्मेदवारी दिने तयारी गरिरहेको भन्दै सबैसँग सहयोगको आग्रह गरे ।

बैठकमा क्लबका अध्यक्ष करुण खनालले जाजरकोट भूकम्पबाट विद्यालयहरुमा पनि क्षति भएकोले क्लवले कर्णाली प्रदेश सरकारसँग मिलेर ४ वटा विद्यालय भवन बनाउने गरी आवश्यक तयारी अगाडि बढेको जानकारी दिए । 

त्यस्तै रोटरीयन लालहरि पाण्डेले मंसिर ५ गते काठमाडौंमा हुने रोटर्याक्टरहरुको चार्टड कार्यक्रमको तयारीबारे जानकारी गराएका थिए । बैठकमा क्लबका सचिव तारानाथ भराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु ई. छविन्द्र भट्टराई, मधुप्रकाश अर्याल, रुचिका पोखरेल भुसाल, विरेन्द्र रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।