
आइतवार , मंसिर ३, २०८०
भैरहवा, ३ मंसिर ।
रूपन्देहीको गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा भएको छ । गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनारस्थित सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिए । उनले तिहार (दीपावली) को छैठौं दिन कृष्ण पक्षको षष्ठीको दिन छठ पर्व मनाइने परम्परा रहेको बताए ।
उनले परिवारको सुःख शान्ति र सन्तान प्राप्तीका लागि पर्व मनाउने परम्परा रहेकोे बताए । चार दिनसम्म मनाईने पर्वमा पहिलो दिन घर सफा गरेर नुहाएर शुद्व खाना खाएर व्रत बस्ने चलन रहेको उनले बताए । उनका अनुसार दोश्रो दिन परिवारका सबै सदस्यहरू निर्जल व्रत बस्ने र गुणबाट बनेको खिर खाने चलन रहेको छ ।
तेस्रो दिन बाँसले बनेको डोकोमा फलफूलसहित छठी मैयाको पूजा सामग्री लिई नदी किनार या तलाउमा अस्ताउँदो सुर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिने तथा दूध र फलफूलसहितको प्रसाद ग्रहण गरेपछि व्रत सकिने प्रचलन रहेको पौड्यालले बताए ।
मेलाका लागि पूजा समिति बनाएर स्थानीयबाट आर्थिक संकलन गरिएको र कार्यक्रम व्यवस्थित र भव्य बनाउन गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको उनले बताए ।
दानव नदीको सन्तेश्वर घाटमा लाग्ने जिल्लाकै उत्कृष्ट ठुलो र भव्य मेलाले गैडहवा गाउँपालिकाको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने उनले बताए ।
ईलाका प्रहरी कार्यालय (ईप्रका) सूर्यपुराले मेलाका लागि आवश्यक सुरक्षा व्यवस्था गरेको छ । मेलामा हुन सक्ने चोरी, डकैती, लुुटपाट जस्ता घटना हुन नदिन सुरक्षा निकायहरूबीच समन्वय गरिएको ईप्रका सूर्यपुराका प्रमुख प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए । सन्तेश्वर घाटमा लाग्ने छठ मेलाको खर्च करिब ७ लाख लाग्ने अनुमान गरिएको दवारीका कुमार हरीजनले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij