२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जनतालाई नजिकबाट सेवा प्रदान गर्ने संघीयताको मुल उद्देश्य : सभामुख घर्ती

कानून निर्माण गर्दा पर्याप्त छलफल हुनुपर्नेमा जोड 

मंगलवार , माघ २०, २०७७

बुटवल, २० माघ । 
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतालाई नजिकबाट सेवा प्रदान गर्नु संघीयताको मूल उदेश्य भएको भन्दै प्रदेश र स्थानीय सरकारले सोही अनुरुप जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशद्धारा प्रदेशसभा स्थापनाको तेस्रो बर्ष प्रवेश गरेको अवसरमा सोमबार बुटवलमा आयोजित ‘संघीयता कार्यान्वयनमा प्रदेशसभा’ विषयक समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनतालाई नजिकबाट सेवा सूविधा दिने बिषयलाई खर्चसँग जोडेर हेर्न नहुने विचार व्यक्त गरेका हुन् ।

संघीयताको कार्यान्वयन राम्रोसंग भए मात्रै संघीयताबाट जनताले लाभ लिन सक्ने भन्दै सभामुख घर्तीले तिनै तहका सरकारले संघीयताको मर्म, भावना र जनअपेक्षा अनुरुप काम गर्नुपर्ने आवश्यकता औल्याए ।

कानून निर्माणमा अन्य प्रदेश भन्दा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको बताउँदै उनले अब बनेका कानूनहरुको कार्यान्वयन र प्रभावकारीताबारे समीक्षा गर्ने बेला आएको बताए । लामो समयको संघर्ष र बलिदानबाट संघीयता आएको भन्दै सभामुख घर्तीले इतिहासले सुम्पिएको जिम्मेवारी र दायित्व सबैले पुरा गर्नुपर्ने धारणा राखे ।

उपसभामुख कृष्णी थारुले अब कानून निर्माणमा भन्दा कानून कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारीताको विषयमा समीक्षा गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले धेरै कानून निर्माण गर्ने भन्दा पनि जनपक्षीय कानून निर्माण गर्नुपर्नेमा जोड दिए । संघीयता कार्यान्वयनसंगै जनताले नजिकबाट सेवा प्राप्त गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै प्रमुख सचेतक खानले सरकार संघीयताको मर्म र भावना अनुसार नचल्दा संघीयताप्रति जनताको मोह भंग हुन सक्ने चिन्ता व्यक्त गरे ।

प्रदेशसभा सदस्य तारा जिसीले प्रदेश सरकारद्धारा सञ्चालित विकास योजनाहरुमा अनियमितता भएको भन्दै अनियमितता गर्ने माथि कारवाही नहुनु दःुखद भएको बताइन् । 

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसीले लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनको अवस्था  र लेखक युवराज कंडेलले लुम्बिनी प्रदेशमा कानून निर्माण र कार्यान्वयनका समस्या बिषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले कानून निर्माण गर्दा सरोकारवाला पक्ष र विज्ञहरुको सहभागिता नदेखिएको भन्दै सरोकारवाला पक्ष र विज्ञहरुसँग छलफल गरेर बनाइने कानून मात्रै प्रभावकारी हुने बताए ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेशको काममा भन्दा केन्द्रीय राजनीतिमा बढी ध्यान दिएका कारण प्रदेश सरकारले गति लिन नसकेको भन्दै उनले प्रदेशमा भएका अनियमितताका घटनामा कारवाही नहुनु दुःखद भएको बिचार व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रदेशसभाले गरेका गतिविधिबारे जानकारी गराएका थिए ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष जोग बहादुर घर्ती, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षद्वय दिनेश पाण्डे र निरु गौतम, अधिकारकर्मी रीमा बिसी लगायतले कार्यपत्रमाथि टिप्पणी कानून निर्माण गर्ने क्रममा सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर मात्रै कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

जसका लागि कानून बनाउने हो उनीहरुसँग पर्याप्त छलफल गरेर निर्माण गरिने कानूनको अपनत्व ग्रहण गर्ने भन्दै उनीहरुले सरोकारवालाहरुसँग पर्याप्त छलफल गरेर मात्रै कानून निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

संसदीय मामिला पत्रकार समाजका महासचिब सिपी खनालको सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।