
बिहिवार , मंसिर ७, २०८०
भैरहवा, ७ मंसिर ।
विधानसभा नौतनवा, महराजगंज (भारत) का विधायक ऋषि त्रिपाठीले नेपाल– भारतबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।
बुधबार भैरहवामा सुरु भएको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को उद्घाटन कार्यक्रममा बोल्दै विधायक त्रिपाठीले नेपाल र भारतको संस्कृतिमा खासै फरक नभएको बताए । उनले भगवान बुद्धलाई भारतमा भगवान विष्णुको औतार मानेर पूजा गरिदै आएको बताए ।
उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध मजबुत छ । यसबारे विश्वमै चर्चा हुने गरेको छ ।’ दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । भारतमा आउने नेपाली नागरिकलाई कुनै असुविधा नहोस् भन्ने मान्यता आफूहरुको रहेको विधायक त्रिपाठीले बताए ।
एकीकृत जाँच चौकी (आईसिपी) निर्माण सम्पन्न भएपछि सीमा क्षेत्रमा रहेका असुविधा र समस्याको समाधान गर्ने बताए ।
महोत्सवमा आफूलाई निमन्त्रणा गर्ने आयोजक चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) लाई उनले धन्यवाद दिए ।
कार्यक्रममा महोत्सव आयोजक संस्थाले विधायक त्रिपाठीलाई ढाकाको टोपी लगाइ मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij