
आइतवार , मंसिर १०, २०८०
रुपन्देही, १० मंसिर ।
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा ऐक्यबद्धता’ भन्ने मूल नारासहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिबार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक कार्यक्रमको अयोजना गरी अभियान सुरु गरिएको हो । सामाजिक विकास मन्त्री चन्द्रकेश (सिके) गुप्ताले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन् ।
उक्त अवसरमा बोल्दै मन्त्री गुप्ताले लुम्बिनी प्रदेशलाई पूर्ण लैंगिक हिंसामुक्त प्रदेश घोषणा गर्ने महाअभियान नै सुरुवात गर्ने बताएका छन् । उनले हिंसामुक्त प्रदेश बनाउन त्यसैअनुसारको रणनीति तयार गरी अभियानको थालनी गर्ने बताए । मन्त्री गुप्ताले संविधान अनुसार नेपालमा कुनै पनि प्रकारको विभेद नरहेको भए पनि लैंगिक हिंसाको अवस्थामा भने सुधार आउन नसकेको बताए । ‘हामीले जे भनेका छौं, त्यो कार्यान्वयन भएको छैन, त्यसैले अब हामीले गर्ने कार्यक्रममा परिवर्तन ल्याउन जरूरी छ’, उनले भने । उनले सरकारी निकाय र संघस–ंस्थाले गर्ने कार्यक्रमको मोडालिटीमा समेत व्यापाक सुधार गर्नुपर्ने बताए।
लुम्बिनी प्रदेशको प्रमुख सचिव राधिका अर्यालले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको आवाज एक हुनुपर्ने बताइन् । उनले लैंगिक हिंसा समाजको ठूलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसँगै यसको अन्त्यका लागि सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि महिला संघ–संस्थाको अहम् भूमिका रहनु पर्ने बताए । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकाले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्नेमा उनले जोड दिए ।
अभियान शुभारम्भ समारोहमा लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रदेश सचिव सुमन घिमिरे, गृह मन्त्रालयका सचिव लालबाबु कवारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर पल्लीमगर, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिति रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र लुम्बिनी प्रदेशका नीति, कार्यक्रम र बजेटमा यसको सम्बोधनका बारेमा सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख शारदा बस्यालले जानकारी गराइन् । मन्त्रालयका सचिव थानेश्वर घिमिरेको अध्यक्षता रहेको कर्याक्रमको सञ्चालन मन्त्रालयका कानून अधिकृत धु्रव भण्डारीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij