
बुधवार , मंसिर १३, २०८०
भैरहवा, १३ मंसिर ।
भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) मा बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले बताए । प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट पहलमानहरुको सहभागीता रहेको जानकारी दिए । प्रतियोगितामा महिला पहलमानको पनि सहभागीता रहेको उनले बताए ।
तराई–मधेशमा लोकप्रिय खेलको रुपमा परिचित कुस्ती प्रतियोगिता सञ्चालन गरिएको महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । उनले भने, ‘प्रतियोगिताले कुस्ती खेलको संरक्षण र प्रवद्र्धनमा केही भए पनि टेवा पुग्छ भन्ने हाम्रो विश्वास छ ।’
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।
त्यस्तै बिहीबार महोत्सवमा गायक दुर्गेश थापा, चक्र बम, मोडल सन्ध्या क्षेत्री, गायिका शिलु भट्टराई, गायक हरि खत्री, गायक प्रशान्त गैरे, डान्सर सरि पोख्रेल, उद्घोषक खेमराज रेग्मी आउने कार्यक्रम रहेको महोत्सवका साँस्कृतिक व्यवस्थापन समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । उनले महोत्सवमा विद्यालयस्तरीय तथा खुल्ला नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको जानकारी दिए । त्यस्तै मेलामा साँझ ‘लाइभ ब्याण्ड विथ डिजे’ सञ्चालन भइरहेको उनले बताए ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।
महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् ।
त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल र मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि. रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij