२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

शनिबारदेखि भैरहवामा टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता

शुक्रवार , मंसिर १५, २०८०

भैरहवा, १५ मंसिर ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा पर्वत ज्वैलर्स बैंकरोड, भैरहवाको प्रमुख प्रायोजनमा मंसिर १६ गते शनिबार (भोलिदेखि) भैरहवामा स्वर्गीय शेर बहादुर सेन्चुरी मेमोरियल टी २० इन्टर स्कूल क्रिकेट प्रतियोगिता–२०८० हुने भएको छ । 

प्रतियोगिता मंसिर २३ गतेसम्म सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ रंगशालामा सञ्चालन हुने आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । 

पर्वत ज्वैलर्सका प्रोप्राइटर विमल सेन्चुरीले आफ्ना हजुरबुवा स्व. शेर बहादुर सेन्चुरीको स्मृतिमा प्रत्येक वर्ष यो प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आएको रुपन्देही क्रिकेट संघले जनाएको छ । यस वर्ष हुने प्रतियोगिता १० औं संस्करण हो ।

प्रतियोगितामा रुपन्देहीका १६ वटा विद्यालय (टीम) को सहभागीता रहने रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । 
उनकाअनुसार प्रतियोगितामा नेपाल नालन्दा सेकेण्डरी बोर्डिङ स्कूल भैरहवा, काशी नोबल एकेडेमी भैरहवा, जेसिज बोर्डिङ सेकेण्डरी स्कूल भैरहवा, साई ग्लोबल स्कूल भैरहवा, यूनिक होम्स इङलिस स्कूल धकधई, लुम्बिनी शिक्षा निकेतन लुम्बिनी, ग्रीनप्लान्ट स्कूल देवदह, न्यू होराइजन स्कूल बुटवल, देवदह पब्लिक स्कूल देवदह, श्री शान्ति नमुना सेकेण्डरी स्कूल मणिग्राम, होराइजन जी.बी.एस., ड्राइभरटोल, मनकामना इङलिस बोर्डिङ स्कूल भैरहवा, श्री जनजागृति स्कूल बुटवल, न्यू ईरा इङलिस बोर्डिङ स्कूल भैरहवा, श्री रुपन्देही लीलाराम न्यौपाने मावि र मुनलाइट आवासीय माविको सहभागीता रहनेछ ।

गत वर्ष यो प्रतियोगितामा १३ वटा टीमको सहभागीता रहेको उनले बताए । उनले प्रत्येक टीमलाई प्रवेश शुल्कवापत रु. ६ हजार तोकिएको र प्रतियोगिता सञ्चालन गर्न अनुमानित रु. ४ लाख खर्च हुने जानकारी दिए । 

प्रतियोगिताको विजेतालाई रु. ५० हजार, उपविजेतालाई रु. २५ हजारसहित साथै ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याटरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र र बेष्ट बलरलाई रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक विजय सिंह ज्ञवालीले बताए ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाई रु. १ हजारसहित शिल्ड र प्रमाणपत्र र बेष्ट अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने ज्ञवालीले जानकारी दिए ।
क्रिकेटको विकासमा स्कूल र कलेजस्तरको प्रतियोगिताहरुले भविष्यका निम्ति नयाँ प्रतिभाहरु उत्पादन गर्ने दिशातर्फ महत्वपूर्ण भूमिका खेल्न सक्नेमा विश्वस्त रहेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘स्थानीयस्तरका मात्र नभइ नेपाल क्रिकेट संघ (क्यान) बाट हुने कार्यक्रमहरु पनि ल्याउन प्रयासमा छौं । सम्भवतः अर्को महिनादेखि राष्ट्रिय प्रतियोगिताहरु पनि सिद्धार्थ रंगशालामा हुनेछ, ’उनले भने ।
पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाण, लुम्बिनी प्रेस क्बलका कार्यबाहक अध्यक्ष कमल रायमाझीलगायतको उपस्थिति रहेको थियो ।