२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनीका सामाजिक विकास मन्त्री गुप्ता भन्छन्-खेल जगतमा राजनीति गर्नुहुँदैन

शनिवार , मंसिर २३, २०८०

भैरहवा, २३ मंसिर ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के.) गुप्ताले खेल जगतमा राजनीति गर्न नहुने बताए । उनले खेलकुद क्षेत्र पार्टीगत रुपमा अगाडि बढे र यसमा राजनीति पसे भोलिका लिनमा खेलकुद क्षेत्रका लागि घातक हुने बताए । मन्त्री गुप्ताले हरेक खेल निष्पक्ष रुपमा भए विभिन्न खेलमा किर्तीमान बनाउन सकिने बताए ।

स्वर्गीय शेर बहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै मन्त्री गुप्ताले अहिलेको वर्ष बजेट थोरै भए पनि सामाजिक विकास मन्त्रालयले अब १५/२० दिनमा बजेट बिनियोजन गर्ने र सिद्धार्थ रंगशालाका लागि जतिसक्दो धेरै बजेट बिनियोजन गर्ने बताए । उनले सिद्धार्थ रंगशालालाई अझ राम्रो र नमूना रंगशाला बनाउने गरी अघि बढ्ने बताए । बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवास्थित सिद्धार्थ रंगशालालाई नमूना स्टेडियम बनाउन चाहेको उनले बताए । उनले रंगशालालाई अझै आकर्षित बनाउन र अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्ने बताए ।

मन्त्री गुप्ताले सिद्धार्थ रंगशालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्न सके कोभिड–१९ ले धरासायी भएका व्यवसायीलाई माथि उठाउन र युवाहरुका लागि रोजगारी सिर्जना गर्न सकिने बताए । उनले भने, ‘म विश्वासका साथ भन्न चाहन्छु, यदी यही सरकार ६ महिना टिकिरहयो भने सिद्धार्थ रंगशालाई आवश्यक रकम असारको बजेटमा मन्त्रालयले विनियोजन गर्नेछ ।’

उनले भने, ‘नेपालका खेलाडीहरुले नेपाललाई विश्वमा चिनाउन सफल हुनुभएकोमा उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । क्रिकेट खेलमा हाम्रा देशका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।’

अहिलेको समयमा खेलाडीबाट जनताले आशा गरेको बताए । खेलाडीको हातमा यो देशको भविष्य र जिम्मेवारी भएको उनको भनाइ छ । खेलकुदको माध्यमबाट मुलुकलाई चिनाउन खेलाडीको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

गत २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू थोरै मतले लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर पदमा पराजित भए पनि त्यतिबेला निर्वाचित मेयर भन्दा बढी आफ्नो चर्चा भएको बताए । उनले भने, ‘हार पनि यस्तो हुन्छ कि कुनै ठाउँमा जीत भन्दा हारको बढी चर्चा हुन्छ । ’

त्यस्तै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले खेलकुद क्षेत्रमा सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, प्रतियोगिताको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापालगायतले बोलेका थिए ।