२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी शिक्षा निकेतनलाई शेरबहादुर सेन्चुरी स्मृति क्रिकेट प्रतियोगिताको उपाधि

आइतवार , मंसिर २४, २०८०

भैरहवा, २४ मंसिर ।
१० औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी शिक्षा निकेतन, लुम्बिनीले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा शान्ति नमूना माध्यमिक विद्यालय, मणिग्रामलाई २८ रनले पराजित गर्दै लुम्बिनी शिक्षा निकेतनले उपाधि चुम्न सफल भएको हो । जीतसँगै लुम्बिनीले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको शान्ति नमूनाले २५ हजार रुपैयाँ र ट्रफी पायो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय २९ रनको योगफल बनायो । उसका लागि एजाजुल हक र अब्दुल हबिबले नटआउट  क्रमशः ४० र २५ रनको योगदान दिए । यस्तै, बिन्दराम गडेरियाले २४ र सन्दीप लोधले २२ रन जोडे । बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले २ र रुविन पराजुलीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना ८ विकेटको क्षतिमा १ सय १ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि आशुतोष पाण्डेले २४, नवीन भण्डारीले १७, समीर नेपालले १५ र सन्देश भण्डारीले १४ रन जोडे पनि जीतका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब र अप्सर खानले समान २–२ तथा सरबरे आलम र सन्दीप लोधले १–१ विकेट लिए । लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब म्यान अफ द फाइनल भइ १ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द सिरिज तथा बेष्ट बलर घोषित भए । उनले नगद १० हजार र ५ हजार रुपैयाँ पाए । यस्तै, लुम्बिनी शिक्षा निकेतनका एजाजुल हक बेष्ट ब्याट्सम्यान घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे । काशी नोबल एकेडेमी अनुशासित टीम घोषित भयो ।

nm.jpg

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि रुपन्देही क्रिकेट संघले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई आफ्ना हजुरबुवा स्वर्गीय शेरबहादुर सेन्चुरीको स्मृतिमा भैरहवाको बैंकरोडस्थित पर्वत ज्वेलर्सका सञ्चालक विमल सेन्चुरीले निरन्तर मुख्य प्रायोजन गर्दै आएका छन् ।

विजेता र उपविजेता टीमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के.) गुप्ता, प्रतियोगिता आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी, प्रतियोगिताका मुख्य प्रायोजक बिमल सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल भन्सार एजेण्ट संघका पूर्व केन्द्रीय अध्यक्ष डा.शान्तकुमार शर्मा, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी लगायतले प्रदान गरेका थिए ।