२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लाफाको ब्याडमिन्टन तयारी पूरा

बिहिवार , माघ २२, २०७७

बुटवल, २२ माघ । 
लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यही माघ २३ र २४ गते दुईदिन प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशसहित काठमाडौं, चितवन, कास्की, दाङ, बाँके, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगितामा यस वर्ष ८० टिमको सहभागीता रहेको संयोजक गाहाले बताए ।

खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसै गरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए ।

भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुलातर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेश्मीले बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले प्रतियोगिताको उदघाटन गर्ने समुहका संरक्षक बासुदेव लामिछानेले बताए । दुई दिनसम्म चल्ने प्रतियोगिता खबरकुरा डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने समेत उनले जानकारी दिए । गत वर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागी रहेका थिए । यस्तै यसवर्ष पुरस्कार राखी पनि वृद्धि गरिएको छ ।

वि.सं. २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरुमध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको लामिछानेले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो ।

समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर ट्रेनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ । पटकपटक पनि स्थानीय तहसंग हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरे पनि जग्गा नपाउँदा व्यक्तिको जग्गा लिजमा लिएर चलाउनुपर्ने बाध्यता रहेको समुहका पूर्वअध्यक्ष केशव रानाले गुनासो गरे ।