२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : फाइनलमा धनगढी र होराइजन भिड्ने

बिहिवार , माघ २२, २०७७

भैरहवा, २२ माघ । 
भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलको अन्तिम खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीले कासी नोबल एकेडीमीलाई २३ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । जितसंगै होराइजनले फाइनलमा शुक्रबार उपाधिका लागि धनगढी क्रिकेट एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो । उसका लागि अमर थापाले २७ र सचिन थापाले अविजित २६ रन बनाए ।

बलिङमा कासीका रमेश कुर्मी, सन्देश जिसी र अर्जुन कारोसले समान २/२ विकेट लिए । जवाफी ब्याटिङ गरेको कासीले ३४.२ ओभरमा सबै विकेट गुमाई ९८ रनमै समेटियो । उसका लागि सन्तोष यादवले २७ र सिद्धार्थ अधिकारीले १४ रन बनाए । बलिङमा होराइजनका सुमित पराजुलीले ७ ओभरमा ४ मेर्डन राख्दै ७ रन खर्चेर ४ विकेट लिए । यस्तै, प्रकाश गिरी र अनिल थापाले समान १÷१ विकेट लिए । सुमित पराजुली म्यान अफ द म्याच भए ।

पूर्व राष्ट्रिय क्रिकेटर शक्ति प्रसाद गौचनको स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा जारी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्नेछ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।