
सोमवार , मंसिर २५, २०८०
तिलोत्तमा, २५ मंसिर ।
पाँचौ तिलोत्तमा उपमेयर कप रनिङशिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ हाइ स्कूल बुटवलले जितेको छ । तिलोत्तमाको कुंवरवर्ती बोर्डिङ हाई स्कूलमा सोमबार सम्पन्न फाइनलमा कुंवरवर्ती बोर्डिङ स्कूलको टीमलाई ३–१ को सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।
प्रतिष्पर्धात्मक खेलमा एभरेष्टले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र चौथो सेट २५–७ ले जितेको थियो भने कुंवरवर्तीले तेस्रो सेटको खेल २५–२३ ले जितेको थियो । एभरेष्टले गत वर्ष सम्पन्न रनिङ शिल्डको चौथो संस्करण पनि जितेको थियो ।
पहिलोदेखि लगातार तेस्रो संस्करणसम्म जितेर रनिङ शिल्ड हात पारेको कुंवरवर्तीले दोस्रो स्थानमा चित्त बुझाएको छ । सोमबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा कपिलवस्तुको हिलबर्ट स्कूलले बुटवलको न्यू होराइजनलाई ३–१ सेटले जित्दै तेस्रो भएको छ ।
उपाधिसँगै एभरेष्टले नगद ६१ हजार रुपैयाँ, कुंवरवर्तीले ४१ हजार, तेस्रो भएको हिलवर्टले २१ हजार तथा सान्त्वना भएको न्यू होराईजनले ११ हजार नगद ,ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एभरेष्टकी मिना सुनार, उदीयमान खेलाडी हिलवर्टकी स्नेहा साहु, उत्कृष्ट सर्भर न्यू होराइजनकी सन्चिता चौधरी, उत्कृष्ट डिफेन्स एभरेष्टकी यमुना रसाईली, उत्कृष्ट ब्लकर एभरेष्टकी शान्ता सुनार, अनुशासित खेलाडी कुवरवर्तीकी रजनी थारु, उत्कृष्ट सेटर कुंवरवर्तीकै सरस्वती कट्टेल, उत्कृष्ट स्पाईकर कुवरवर्तीकी कोपिला राना, र उत्कृष्ट प्रशिक्षक हिलवर्टका भरत थापा भए ।
प्रतियोगिताको एक समारोहकाबीच समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पछिल्ला वर्षहरुमा खेलाडीहरुले खेल खेलेरै राम्रो आम्दानी गर्न सफल भएका र राष्ट्रको नाम उच्च बनाउन सफल भएका बताए । खेलकुदका माध्यमबाट पुर्वाधार विकासमा पनि योगदान पुग्ने भन्दै उनले तिलोत्तमालाई अब खेलकुदका माध्यमबाट पहिचान उचो बनाउने बताए ।
उपप्रमुख जागेश्वरी देवी चौधरी, तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्य लगायतले कुंवरवर्ती स्कुलले भलिबल प्रतियोगिताको उत्कृष्ट व्यवस्थापन गरेको बताए । प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ वटा टीमको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij