२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर सचेतना कार्यक्रम

बिहिवार , माघ २२, २०७७

भैरहवा, २२ माघ ।
विश्व क्यान्सर दिवस–२०२१ को अवसर पारेर लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले बिहीबार क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)को सहयोगमा दुवै क्लबले संयुक्त रुपमा सिद्धार्थनगर–१ स्थित बेलहिया माध्यमिक विद्यालयमा क्यान्सरसम्बन्धि सचेतना कार्यक्रम र क्यान्सर परीक्षण शिविरको आयोजना गरेका हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले विश्वमा क्यान्सर रोगीहरुको तीव्र रुपमा वृद्धि भइरहेकोले सचेत हुनुपर्ने बताए । उनले व्यायाम नगर्नु र सुर्तीजन्य पदार्थको सेवनको क्यान्सरको मुख्य कारण भएको बताए । उनले प्रारम्भिक अवस्थामा क्यान्सर पत्ता लागे निको हुने तर ढिलो उपचार गरे बिरामीलाई बचाउन ग्राहो हुने बताए ।

लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले ६ वटा मृत्युमध्ये एउटा मृत्यु क्यान्सरको कारण हुने गरेको बताए । उनले क्यान्सरले व्यक्तिलाई प्रताडित बनाएकोले यसको रोकथामको लागि सबै सरोकारवाला लाग्नुपर्ने बताए ।

नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रीय अध्यक्ष डा. शान्त कुमार शर्माले विद्यालयस्तरबाट नै क्यान्सरसम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले प्रारम्भिक अवस्थामा क्यान्सरको उपचार गरे क्यान्सर निको हुने बताए ।
कार्यक्रम संयोजक लायन मंगल भण्डारी (एमजेएफ)ले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु वेश हुने बताए । उनले क्यान्सरले धनी, गरीब, पुरुष र महिला नचिन्ने भएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका अध्यक्ष देवराज न्यौपाने र लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका अध्यक्ष देवी न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक मंगल भण्डारीको स्वागत, कार्यक्रम संयोजक मीनाक्षी क्षेत्रीको ध्वजा अभिवादन तथा लायन्स सिद्धार्थनगर होलिसिटीका प्रथम उपाध्यक्ष राकेश गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।