
मंगलवार , मंसिर २६, २०८०
भैरहवा, २६ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रदेश सरकारले धेरै काम गर्नुपर्ने बताएका छन् । उनले सरकारले विभिन्न कामको सुरुवात गरिसकेको बताए ।
गृह मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रशासन कार्यालय लुम्बिनीको संयोजनमा सोमबार गुल्मीको तम्घासमा आयोजित जिल्लास्तरीय सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रण सम्बन्धी सुरक्षा गोष्ठीमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् ।
उनले भने, ‘कम साधनस्रोत र जनशक्तिका बाबजुद पनि जिल्ला प्रशासन/प्रहरी कार्यालयले धेरै राम्रो काम गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन सम्झौता मूल्यांकनमा देशभरमा नै पहिलो बनेको छ ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रहरी/प्रशासन कार्यालयबाट जनताले अपेक्षा गरेको बताए । उनले भने, ‘विपद्को समयमा पनि प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको भूमिका महत्वपूर्ण छ ।’ गृह मन्त्रालयबाट सुरक्षा निकायलाई सक्दो सहयोग गर्ने उनले बताए ।
उनले सरकारी सेवामा काम गर्न लोकसेवाको परीक्षा उत्र्तीण गर्नुभए पनि नेता मन्त्री बन्न जनताको मन जित्नुपर्ने बताए । सरकारको सहयोग बिना पनि नेपाली खेलाडीहरुले विश्वमै उत्कृष्ट खेल प्रदर्शन गरेको र नेपाल प्रहरीले पनि कम स्रोतसाधनमा उत्कृष्ट काम गर्न सफल भएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij