
मंगलवार , मंसिर २६, २०८०
भैरहवा, २६ मंसिर ।
तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडर गन’ मार्फत सवारीसाधनको गति मापन र कारवाही सुरु गरेको छ । जिल्लाका विभिन्न ठाउँमा ‘राडर गन’ मार्फत चेकजाँच सुरु गरिएको र तीव्र गतिमा सवारी चलाउनेलाई ठाउँका ठाउँ ‘अन द स्पट’ कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले आइतबारबाट चेकजाँच सुरु गरिएको जनाए । उनका अनुसार आइतबार पहिलो दिन तीव्र गतिमा सवारी चलाउने कार र मोटरसाइकल गरी ३२ र सोमबार ३५ वटा सवारी कारवाहीमा परेका छन् । ‘जाडोयाम सुरु भइसकक्यो, साँझबिहान हुस्सुले सवारीलाई गति तय गर्न कठिन हुन्छ । यस्तो बेला तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ’, उनले भने, ‘तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न लागिपरेका छौं ।’
प्रहरी निरीक्षक बिष्टले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अभियान नै चलाएको बताउँदै यदि तिव्र गतिमा सवारी चलाएको पाइए ठाउँका ठाउँ कारवाही गरिने बताए । ‘सवारी कति स्पिडमा छ भन्ने ‘राडर गन’ले जानकारी दिन्छ’, उनले भने, ‘तोकिएभन्दा बढी गतिमा चलाएको पायौं भने तुरुन्तै कारवाही गर्छौं ।’ उनले तीव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको बताए । यस्ता दुर्घटनामा कयौं नागरिकको ज्यान जाने गरेको छ ।
‘रुपन्देहीका विभिन्न सडकखण्डहरुमा भइरहेको सवारी दुर्घटनाका विभिन्न कारणहरुमध्ये तीव्र गति मुख्य हो’, बिष्टले भने, ‘करिब ७० प्रतिशत सवारी दुर्घटना तीव्र गतिकै कारण हुने गरेको छ । यसलाई न्युनीकरण गर्न हामी लागिपरेका छौं ।’ बिष्टले सवारी दुर्घटना न्यूनीकरण गर्न ‘राडर गन’ सहयोगी हुने विश्वास व्यक्त गरे ।
जिल्ला अन्तर्गतका विभिन्न सडकखण्डहरुमा सवारी दुर्घटना भएपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकिङको क्रममा राडर गन प्रयोगमा ल्याएको हो । नियमअनुसार प्रतिघण्टा ६० किलोमीटर मात्रै सवारी कुदाउन पाउने प्रावधान छ । यो भन्दा बढी स्पिड चलाए ट्राफिकले तुरुन्त कारवाही गर्ने गरेको छ । ट्राफिक कारवाहीमा पर्नेमा दुईपांग्रे र चारपाँग्रे सवारी बढी छन् ।
रुपन्देही ट्राफिक प्रहरीले सवारी चलाउँदा सडकका ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिन, अगाडि राम्रोसँग हेरेर दायाँ–बायाँको लुकिङ ग्लासमा ध्यान दिन र स्पिड कन्ट्रोल गर्न अनुरोध गरेको छ । ‘हामीले ठाउँठाउँमा सचेतना जगाउने, चालक तथा सह-चालकलाई सकडमै ट्राफिक नियमबारे जानकारीमूलक प्रशिक्षण दिने, सचेतना र लेनअनुशासन सम्बन्धी बोर्डहरु राखेर पनि दुर्घटना न्यूनीकरणका लागि प्रयास गरिरहेका छौं’, उनले भने । जाडो याममा हुस्सुले दुर्घटनाको जोखिम निम्त्याउने भएकोले सवारी चलाउँदा र पैदलयात्रा गर्दा सचेत हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । अहिले ट्राफिक प्रहरीले हप्ता दुई दिन चालक, सह-चालक र दुई दिन विभिन्न संघ–संस्था तथा स्कूलहरुमा ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij