२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

विकासका लागि सुरक्षा आवश्यक : डीआईजी जोशी

मंगलवार , मंसिर २६, २०८०

भैरहवा, २६ मंसिर ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले सुरक्षा बिना विकास हुन नसक्ने बताएका छन् । उनले विकास भन्दा पहिला सुरक्षा आवश्यक रहेकोमा जोड दिए ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीस्थित अस्थायी प्रहरी पोष्ट (चौकी) को सोमबार उद्घाटन गर्दै डीआईजी जोशीले भने, ‘प्रहरीसँग सूचना लिने मात्र होइन, प्रहरीलाई सूचना पनि दिनुपर्छ । ’उनले प्रहरी र डाक्टर एउटै जस्तो भएको र उपचारका लागि समयमै पुगे जस्तै प्रहरीलाई पनि समयमै सूचना दिनुपर्ने बताए । 

समाजसँग प्रहरीले समन्वय नगरेसम्म नाराले मात्र काम गर्ने उनको भनाइ छ । समाजको सहयोग बिना प्रहरी अगाडि बढ्न नसक्ने उनले बताए । लुम्बिनी प्रदेशमा प्रहरीले आत्महत्या नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जोशीले जानकारी दिए ।

नागरिक र प्रहरीबीच हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षा प्रदान गरी जनताको जिउधनको सुरक्षा गर्न चौकीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले चौकीको संरक्षणमा स्थानीयबासीको भूमिका महत्वपूर्ण रहने बताए । उनले अब प्रहरीलाई आफ्नै भवनमा बस्ने अवस्था भएको बताए । उनले आफ्नै घरमा बसेर काम गर्दा प्रहरीलाई गर्वको अनुभुति हुने बताए । उनले प्रहरी पोष्ट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले भने, ‘अब प्रहरी चौकी स्थापना भएसँगै बैंक तथा वित्तीय संस्था यहाँ आउँछन्, एसईई परीक्षाका केन्द्रहरु नजिकै राख्न सकिन्छ । ’

उनले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । डीआईजी जोशीले भने, ‘अनुत्पादक क्षेत्रमा खर्च घटाउनुपर्छ र गुनासो मात्र गर्ने बानी हटाउनुपर्छ ।’