२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

सीमित साधनस्रोतका बाबजुद प्रहरी शान्ति सुरक्षा कायम गर्न सफल : मन्त्री पाण्डेय

बुधवार , मंसिर २७, २०८०

भैरहवा, २७ मंसिर ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सीमित साधनस्रोतका बाबजुद प्रहरी शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

गृह मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका (देउखुरी), दाङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, पाल्पाको संयोजनमा मंगलबार तानसेनमा भएको जिल्लास्तरीय सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रण सम्बन्धी गोष्ठीमा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले सवारी दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

उनले गृह मन्त्रालयले सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराउने र यसलाई सहयोगको रुपमा नबुझिदिन आग्रह गरे । उनले भने, ‘यो त गृह मन्त्रालयको दायित्व हो । यसलाई सहयोगको रुपमा नबुझिदिनुहोला ।’ सुरक्षा निकायलाई सबल बनाउनुपर्ने उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले वर्तमान समयमा रहेका समस्या समाधान गर्दै भविष्यको लागि योजना बनाउनुपर्ने बताए । उनले सुरक्षा निकायलाई आवश्यक सामग्री, पूर्वाधार निर्माणलगायतका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।

उनले विभिन्न चेतनामूलक कार्यक्रमको माध्यमबाट आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सकिने बताए । उनले भने, ‘सकारात्मक सोचसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ । ’

जीवन निमित्त र त्यसमा पद त झन केही समयका लागि मात्रै भएकाले जनताको लागि काम गर्नुपर्नेमा उनले जोड दिए । नेतृत्व गर्ने व्यक्तिले आदेश मात्र दिएर नहुने उनले बताए ।

त्यस्तै गृह मन्त्रालय लुम्बिनी प्रदेशका सचिव लालबाबु कवारीले प्रदेश र संघ सरकार नभनी र नछुट्टाएर हामी भनेको जनताको सेवक हौं भन्ने बुझ्न आग्रह गरे । उनले जनताको सेवामा दत्तचित्त भएर लागे समस्या नआउने बताए । उनले भने, ‘हाम्रो कर्तव्य र दायित्व पनि त्यही हो । त्यसहिसाबले हामी अगाडि बढौं ।’

सुरक्षा वृहत र विशाल विषय भएको र यो जनतासँग सरोकार राख्ने विषय भएकोले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले प्रदेशप्रति अपनत्व लिदै सबै मिलेर प्रदेशको विकासका निम्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

WhatsApp Image 2023-12-12 at 7.22.20 PM.jpeg