
बिहिवार , माघ २२, २०७७
भैरहवा, २२ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले क्यान्सर पीडितलाई सहयोग गरेको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ का १३ वर्षिय यम कुमार मगरको उपचारका लागि २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको हो ।
विश्व क्यान्सर दिवस–२०२० को अवसर पारेर यमको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले बिहीबार आर्थिक रकम प्रदान गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष राजेन्द्र थापाले बताए ।
यसैबीच क्लबले मायादेवी गाउँपालिका र नेपाल क्यान्सर सपोर्ट ग्रुपको सहयोगमा रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित श्री समता ज्ञान निकेतनको प्रांगणमा क्यान्सरसम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले गाउँपालिकामा विभिन्न कार्यक्रम गरेर सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि क्लबसंग सहकार्य गर्दै जाने बताए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको मुख्य कारण भएको बताए । उनले महिलामा स्तन र पाठेघर सम्बन्धि क्यान्सर बढ्दै गएको बताए । भीम अस्पताल भैरहवाका बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले बालबालिकामा विशेष गरी रक्त क्यान्सर हुने गरेको पाइएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल एरिया–४ का हेड–इभालुएसन टिम विनोद खरेलले जनचेतनामूलक कार्यक्रमबाट पनि क्यान्सरबाट धेरैलाई बचाउन सकिने बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता, कार्यक्रम संयोजक भोजराज बस्यालको स्वागत तथा क्लबका प्रथम उपाध्यक्ष महेश नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij