
बुधवार , मंसिर २७, २०८०
भैरहवा, २७ मंसिर ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देही उद्योग संघ बुटवल, रुपन्देहीले ऐक्यवद्धता जनाएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीको नेतृत्वमा भैरहवामा दबाबमूलक कार्यक्रम भइरहेको छ । जसअन्तर्गत आइतबारदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरिएको छ ।
धर्ना कार्यक्रममा बुधबार रुपन्देही उद्योग संघको टीम सहभागी भइ आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद पराजुलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्दै माग गर्नुपरेको बताए । उनले सबै कुरा प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको गौरव हो । महाकालीको नागरिकलाई पनि यही विमानस्थलबाट जान–आउन सहज हुन्छ ।’ राज्यले आफै भनेको कुरा लागू नगर्ने परिपाटी रहेको उनको भनाइ छ ।
‘एअरपोर्ट चलाउन पाइँदैन भनेर विरोध गरेका होइनौ ऋण लिएर बनाएको एअरपोर्ट चलाउनुपर्छ भनेर कराउनुपरेको छ । अब सशक्त आन्दोलन गर्नुपर्छ, ’उनले भने । आन्दोलनमा रुपन्देही उद्योगसंघसहित बुटवलका संघ–संस्थाहरुको साथ र सहयोग रहने पराजुलीले बताए ।
संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिहरुको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताए । उनले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिहरुको हातमा रहेको बताए । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिषा सेन्टर, श्रम स्वीकृति कार्यालय लगायतका संरचना बनाउन आग्रह गरे ।
उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताए । उनले भने, ‘यो आन्दोलन लामो हुने वाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरहरुको पनि आन्दोलनमा सहभागीता हुन्छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij