२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगर–९ मा प्रथम वडा कप सुरु

शुक्रवार , मंसिर २९, २०८०

भैरहवा, २९ मंसिर । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ वडा कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि प्रथम वडा कप सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा उदयपुर ८ विकेटले विजयी भएको छ । टस हारेर ब्याटिङ गरेको प्रभातपथ टीमले निर्धारित १२ ओभरको खेलमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । उसका लागि संगम पाण्डेले सर्वाधिक ३७ रन बनाए । त्यस्तै विवेक श्रेष्ठले ९ रन र युवराज बरालले ६ रन बनाए । बलिङतर्फ उदयपुरको सुनिल जयसवालले ३ विकेट लिए भने संजय कुर्मीले २ र दिपक यादवले १ विकेट लिए ।

प्रतिउत्तरमा ८० रनको लक्ष्य उदयपुरले सहजै भेट्टायो । पाँचौ ओभरमै लक्ष्य भेट्टाएको उदयपुरका लागि ओपनर ब्याटर रहमान अलिले अविजित ४५ रन बनाए । सो क्रममा उनले १८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै साहिद अलिले २१ रन बनाए ।  खेलमा ४५ रन बनाएका रहमान अलि मेन अफ द म्याच घोषित भए ।

यसअघि भएको उद्घाटन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नगर पालिकाले अन्य विकाससँगै खेलकुद विकासलाई पनि प्राथमिकता दिएको बताए । युवाहरुलाई कुलतबाट जोगाउन र नगरमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित वडाकप आयोजना गरिएको बताए । फरक प्रसंगमा बोल्दै उनले नगरको विकासमा सबै नगरबासी एकजुट हुन उनले अपील गरे । भैरहवालाई हरित नगर बनाउन नगरपालिकाको प्रयासलाई नागरिकको सहयोग आवश्यक रहेको उनले बताए ।

njjj.jpg

वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उज्जवल पोखरेल, २ का छेदीलाल श्रीवास्तव, ३ का नारायण प्रसाद उपाध्याय, ७ का दामोदर शर्मा घिमिरे, समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, वडा नम्बर ९ का वडा सदस्यहरु युवराज बराल, सविता हरिजन, बसन्त भट्टराई, बसुन्धरा शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय विजय पाण्डेले गरेका थिए ।