२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा

शुक्रवार , मंसिर २९, २०८०

भैरहवा, २९ मंसिर  । 
चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणसहित नेपाल र चीनबीचको संस्कृति आदानप्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो । चिनिया टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो । 

सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीनबीच सदियौंदेखि साँस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै  दुई देशबीचको संस्कृति आदानप्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि मैत्रीपूर्ण भ्रमणमा आएको बताए । ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहांका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले बताए । 

चिनिया टोलीलाई स्वागत गर्दै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनिया शहरबाट सिधा उडानको वातावरण मिलाइदिन आग्रह गरे । उनले  नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरे । केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग बनेको खण्डमा करोडौंको संख्यामा रहेको चिनिया बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताए । 

नेपाल–चीन मैत्री समाज लुम्बिनीका महासचिव मनिष कुमार जोशीले ग्वान्दोङ प्रान्तका व्यवसायीलाई लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन चिनिया टोलीसँग आग्रह गरे ।