
शुक्रवार , मंसिर २९, २०८०
भैरहवा, २९ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवालाई एकिकृत रुपमा प्रदान गरेको छ । नागरिकलाई सहज रुपमा आफ्नै घर अगाडिबाट सेवा प्रवाह गर्ने उद्धेश्यले वडा स्तरबाट एकिकृत सेवाको थालनी गरेको हो ।
तिलोत्तमा नगरपालिकाले वडा नम्बर १४ टिकुलीगढबाट एकिकृत घुम्ती शिविर मार्फत नगरपालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवा प्रबाह गरेको हो । जनताको घरदैलोमै पुगेर सेवा दिने उद्धेश्यले सुरु गरिएको घुम्ति शिविरबाट वडा नम्बर १३ र १४ नागरिकले उत्साह पुर्वक रुपमा सेवा लिएका थिए । शिविरमा तिलोत्तमा नगरपालिकाको १३ र १४ वडाका सेवाग्राहिहरुले सो घुम्ती शिविरमा सेवा लिएका थिए ।
नगरपालिकाले शुरु गरेको घुम्ति शिविरमा वडाबाट प्रदान गरिने सेवा बाहेकका सेवाहरु पनि प्रदान गरिएको थियो । नगरपालिकाबाट मात्र गरिने योजना सम्झौता, लागत अनुगमन स्वीकृत, मुल्याङकन तथा भुत्तानी सिफारिस, जेष्ठ नागरिक तथा अपाङगता परिचय पत्र वितरण, रोजगार परामर्श, उद्धमी परामर्श लगाएतका सेवाहरु प्रदान पनि गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
शिविरमा ३ हजार बढी सेवाग्राहीले सेवा लिएका थिए । नगरपालिकाले एकै स्थानबाट प्रदान गरिएको सेवाबाट नगरवासी खुसि देखिएका छन् । तिलोत्तमा १४ टिकुलीगढका यमलाल भण्डारी र गंगादेवि अधिकारीले घर अगाडिबाटै सेवा पाउदाँ आफुहरुलाई निकै सहज भएको उल्लेख गरे । उनीहरुले नगरपालिकाले आम नागरिकका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
वडाबाट नगरपालिकामा सेवा लिन आउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गर्दै समयको बचत तथा नागरिकको सहजताका लागि गाउँमै सेवा प्रवाह गरिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिईन् । तिलोत्तमा १४ बाट शुरु गरिएको यस कार्यक्रमलाई सवै वडाबाट प्रदान गरिने उपप्रमुख चौधरीको भनाई छ ।
वडागत रुपमा सेवा प्रबाहलाई चुस्तदुरुस्त बनाउन सो कार्यको आयोजना गरिएको शिविरले सेवा सहजतामा राम्रो प्रभाव पारेको वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलले बताए । करिव ३ हजार बढीले सेवा लिएको सो शिविरमा आएका सेवा ग्राहीहरु घर आँगनमै नगरपालिकाको सेवा पाउँदा खुसी व्यक्त गरेको अध्यक्ष पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij