
शनिवार , मंसिर ३०, २०८०
रुपन्देही, ३० मंसिर ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानार्कषण गराउँदै तीव्रता दिन निर्देशन दिएका हुन् ।
सिद्धबाबा सुरुङमार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत गराए । ‘अहिले ८/९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’ मन्त्री ज्वालाले भने । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, बहाना बनाएर काममा ढिलाई गर्न छुट नदिने बताए । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर बहाना बनाएर ढिलाई गर्न पाँइदैन’ उनले भने ।
मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताए । उनले निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित तीनवटा क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गति लिन नसकेको स्वीकार गरे । उनले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाईन स्वीकृत गरेर काम भइरहेको बताए ।
त्यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गरेका छन् । सडक निर्माण समयमा पूरा नहुँदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको उनले बताए । ‘बुटवल–नारायणगढ सडकको कामको गति बढेको छैन, सन्तुष्ट छैनौं’ मन्त्रीले भने–‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुटछौ ।’ मन्त्री शर्माले यस सडकका विषयमा नागरिकको गुनासो निकै धेरै भएकाले अब कुनै पनि बहानामा काममा ढिलाइ नगर्न निर्देशन दिएको बताए ।
मन्त्री ज्वालाले आफू बुटवल नारायणगढ सडकको काममा भइरहेको ढिलाइप्रति निकै चासो रहेको बताउँदै यसपटक समस्याको चुरो पत्ता लगाएर समाधान गर्ने गरी आएको बताए । उक्त अवसरमा बुटवल नारायणगढ–पश्चिम सेक्टर आयोजना प्रमुख शंशाक मिश्रले पर्याप्त मात्रामा निर्माण सामाग्री नपाउँदा काममा ढिलाइ भएको बताए । उनकाअनुसार नारायणगढ बुटवल–पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति छ । मन्त्री ज्वाला सहितको टोलीले शनिबारै हुलाकी सडकखण्डको समेत निरीक्षण गरेका छन ।
त्यस्तै कपिलवस्तुमा निर्माण भएको सुरईखोलाको पुलको समेत उद्घटन गरिएको छ । निरीक्षणमा मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल, मन्त्रालयका निमित्त सचिव रघुराम विष्ट, एसियाली विकास बैंक (एडीबी)का निर्देशनालयका प्रमुख चुराराज ढकाल, पुल महाशाखाका प्रमुख ललितजंग खनाल लगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij