२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

बुटवलमा सर्भिसलेनको चौढाई बढाउन सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण

शुक्रवार , माघ २३, २०७७

बुटवल, २३ माघ । 
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवल–बेलहिया व्यापारिक माग अन्तरगत विस्तारको काम हुँदै गरेको बुटवलको चौराहा–चिडियाखोला सर्भिस लेनको चौढाई बढाउन सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ ।

बुटवल चौराहादेखि बेलहियासम्म मुल सडकको दुवैतर्फ १९ फिट कायम गरिएकोमा संघले सडक डिभिजनमा ध्यानाकर्षण गराउँदै चौराहा–चिडियाखोलामा डिजाईनमा केही सुधार गरेर न्यूनतम २७ फूट बनाउन आग्रह गरेको हो । 

चौराहा–बेलहियामा जस्तै गरेर बन्दै गरेको चौराहा–चिडियाखोलामा पनि १९ फूट कायम गरियो भने व्यवहारिक रुपमा अपूरो र अधुरो हुने औंल्याउँदै सर्भिस लेनलाई न्यूनतम २७ फूट कायम हुँदा व्यापारको विविधिकरण र विशिष्टीकरणमा समेत योगदान पुग्ने संघले विश्वास व्यक्त गरेको छ ।

१९ फुट सर्भिस लेनलाई विस्तार गरी २७ फुट कायम गर्दा जमिनको बहुपयोग हुने र थपहुने ८ फुट मध्ये हरियाली पार्कबाट ३ फुट तथा फुटपाथबाट ५ फुट कटाउदा अन्य मापदण्डमा असर समेत नपर्ने महशुस गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बताए ।

बुटवल उपमहानगरपालिका, सडक क्षेत्रमा पर्ने वडा कार्यालयहरु तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसलाई समेत बोधार्थ दिईएको ध्यानाकर्षण पत्रमा संघको तर्फबाट गरिएको फिल्ड स्टडी र प्रस्ताव गरिएको मापदण्डको डिटेल समेत प्रदान गरिएको छ ।