२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

मिडियाको संरक्षणका लागि प्रदेश सरकार अगाडि बढ्छ : मन्त्री पाण्डेय

सोमवार , पौष २, २०८०

भैरहवा, २ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मिडियाको संरक्षणका लागि प्रदेश सरकार अगाडि बढ्ने बताएका छन् । उनले मिडियाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारको पनि भएको उल्लेख गरे ।

राष्ट्रिय टेलिभिजन प्रशारण संघ, लुम्बिनी प्रदेशले सोमबार भैरहवामा आयोजना गरेको टेलिभिजन सञ्चालन, अवसर र चुनौती सम्बन्धी कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘मिडियाले पक्ष, विपक्ष, प्रतिपक्ष भन्दा निष्पक्ष तरिकाले काम गर्नुपर्छ ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले नकारात्मक कुरालाई निरुत्साहित गर्न आगामी दिनमा राम्रा कुराको व्यापाक रुपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । सकारात्मक सोचले काम गरे परिणाम सकारात्मक हुने उनको भनाइ छ । 

मन्त्री पाण्डेयले भने, ‘आर्थिक मन्दीले मिडिया मात्र नभइ हरेक क्षेत्रमा समस्या आएको छ । जबसम्म पृथ्वी रहन्छ, चुनौति रहन्छ । चुनौतीका आकार र प्रकार फरक हुन सक्छन् ।’

पत्रकार र सञ्चार माध्यमबाट आएका सुझावहरुलाई लिपिबद्ध गर्दै अगाडि बढ्ने उनले बताए । समय अनुसार अघि बढ्नुपर्ने उनले बताए ।  `प्रदेशमा रहेका टेलिभिजन संचालनमा सघाउने ध्ययेले हामीले केही कार्यक्रम राख्छाैं, यसले धेरै सहयाेग पुग्छ´, उनले भने । संघीयता कार्यान्यवन गर्न पनि प्रदेशमा रहेका मिडियालाई संरक्षण गर्नुपर्ने उनले बताए । 

मन्त्री पाण्डेयले छिट्टै नै प्रदेशका मुख्यमन्त्रीसहित बैठक राखेर लुम्बिनी प्रदेशमा प्रसारण कार्यालय रहेका टेलिभिजनहरुसँग प्रदेश सरकारको सहकार्यलाई थप जोड दिने पनि बताए ।

छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाजमा एकाधबाहेक धेरै यट्युब च्यानलहरुले भ्रमको खेती गरिरहेको र सामाजिक द्वेष फैलाउने गरेको बताउँदै त्यस्तालाई प्रशासनले नियालिरहेको बताए । 
छलफलमा जिल्ला हुलाक कार्यालय, रुपन्देहीका प्रमुख ऋषिकेश रेग्मीले जिल्ला तहमा हुने सञ्चार माध्यम अनुगमन समितिको संयोजकको हिसाबले सदैव दर्तावाला र वैधानिक मिडियाको पक्षमा वकालत गरिरहेको बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक परशुराम भट्टराईले पालिका र सरकारी कार्यालयका विज्ञापन प्रसारण तथा प्रकाशन र डकुमेन्ट्रीहरु निर्माण  दर्ताबिहीन यट्युब च्यानल तथा अनाधिकृत व्यक्ति र संस्थालाई दिन नहुने बताउदै त्यस्तो पाइएमा सबै कार्यालयमा लेखापालहरुलाई रोक्न निर्देशन दिने बताए ।

राष्ट्रिय टेलिभिजन प्रसारण संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेश के. सी.ले लुम्बिनी प्रदेशमा वैधानिक रुपमा सञ्चालनमा रहेका टेलिभिजनहरुको संरक्षणको लागि सरकारी तवरबाट पनि आवश्यक सहयोग जरुरी रहेको बताए । उनले भने, ‘ हामीलाई सरकारले यतिकै पैसा दिने होइन तर, सरकारी विज्ञापन, सूचनाहरु एजेन्सीमार्फत नभई सिधै मिडिया हाउसहलाई दिएमा यहाँको टेलिभिजनहरुको सम्बर्धनमा सहयोग पुग्छ ।’

सो अवसरमा लुम्बिनी टेलिभिजन सञ्चालक समितिका अध्यक्ष एजाज आलमले जनताले सञ्चालन गरेका टेलिभिजनहरुले सरकारको सेवा प्रवाहलाई जनता समक्ष पुर्यारहेको बताउँदै राज्यले टेलिभिजनको सम्बर्धनमा ध्यान दिनुपर्ने बताए । टेलिभजनहरुको संरक्षण गर्नु राज्यको पनि दायित्व भएको उनको भनाइ छ ।

राष्ट्रिय टेलिभिजन प्रसारण संघका सल्लाहकार दिनेश पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै सामजिक सञ्जाल, युटयुबले सृजना गरेको चुनौति, वर्तमान आर्थिक मन्दी र समाचारको विश्वसनीयताको बारेमा प्रष्टाएका थिए । 

e6ebcd02-85e4-4a05-bcff-273f43b2a601.jpeg

कार्यक्रममा समता टेलिभजन नेटवर्क भैरहवाका अध्यक्ष गोकुल पोखरेल, सनराईज टिभी पाल्पाका सञ्चालक सन्तोष बस्याल, राज्य टेलिभिजन बुटवलका निमित्त कार्यलय प्रमुख हरिश ढकाल, बुद्ध आवाज टेलिभिजन कपिलवस्तुका सञ्चालक उमाशंकर चौधरी, तिलोत्तमा टेलिभिजन रुपन्देहीका सञ्चालक कृष्ण प्रसाद पाण्डे, पृथ्वी टेलिभिजन रामपुर पाल्पाका सञ्चालक कृष्ण पौडेल, देवदह टेलिभिजनका सञ्चालक गोविन्द ठडराई, लुम्बिनी टिभीकी स्टेशन म्यानेजर भगवती पाण्डे, साझा टिभीका सञ्चालक भुवन जिसी, तिलोतमा टिभीकी स्टेशन प्रमुख मीनाक्षी न्यौपाने, राज्य टिभीका समाचार प्रमुख यमलाल भुसाल लगायतले बोल्दै टेलिभिजन मिडियाको आवश्यक्ता दिनानुदिन बढ्दै गएको बताए । 

560b0c44-8bdb-4b2e-b697-1261158799ef.jpeg

61b91067-1cb1-49c1-87e9-53ed41525001.jpeg

WhatsApp Image 2023-12-18 at 6.02.22 PM.jpeg