सोमवार , पौष २, २०८०
बुटवल, २ पुस ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार भव्य रुपमा मनाउने भएको छ । परिषदका जिल्ला अध्यक्ष विमला गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले हि ल्हो (बिरालो वर्ग) लाई बिदाई गर्ने र मु प्री ल्हो (गिद्ध बर्ग) लाई स्वागत गर्ने गरी यही पुस १५ गते शहरी विकास मन्त्री सीता गुरुङको प्रमुख आतिथ्यतामा कार्यालयको प्रांगण रामनगरमा विविध कार्यक्रमका साथ ल्होसार पर्व मनाउने सचिव ओम प्रकाश गुरुङ्ले बताए ।
त्यसै गरी पुस ५ गते बिहान ८ बजे जिल्ला कार्यालय परिसरमा पत्रकार सम्मेलन, ११ गते बिहान ८ बजे सरसफाई कार्यक्रम, १२ गते बिहान ८ बजे बिहान रक्तदान कार्यक्रम, १३ गते बिहान ८ बजे मानव सेवा आश्रम सुख्खानगरमा दान र जिल्लाभरी साँझ ५ बजे दिपावली, १४ गते बिहान १० बजे बृहत् झाँकीसहितको शान्ति र्याली र इकाईस्तरको नृत्य प्रतियोगिता कार्यालयको प्रांगणमा गरिनेछ ।
त्यस्तै पुस १५ गते बिहान ११ बजे जिल्ला समिति कार्यलयको प्रांगणमा बृहत ल्होसार सार्वजनिक समारोह विविध साँस्कृतिक कार्यक्रम छेलो प्रतियोगिता गरी भव्य किसिमले पुस १५ गते महान पर्व ल्होसार मनाउने तयारी भइरहेको मूल संयोजक अध्यक्ष विमला गुरुङ्ले बताइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij