२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरणका लागि छलफल

बिहिवार , पौष ५, २०८०

भैरहवा, ५ पुस ।
रुपन्देहीमा सवारी दुर्घटना बढ्दै गएपछि त्यसको न्यूनीकरणबारे बुधबार भैरहवामा छलफल गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । 

कार्यक्रममा सुरक्षा निकाय, सामूदायिक तथा संस्थागत विद्यालयका प्रमुख एवं प्रतिनिधि, संघ–संस्था, स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

शिक्षा आर्जन गरिने विद्याको मन्दिर विद्यालयमा सवारीचालकका कारण हुने ठूला दुर्घटनाले जनमानसमा अझ नकारात्मक असर पर्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर सुझाव–सुझाव सल्लाह लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बताए । उनले जनचेतनामूलक कार्यक्रममार्फत सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । उनले सवारीचालकले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान दिन आग्रह गरे ।

प्रहरी निरीक्षक बिष्टले रुपन्देहीमा सवारी दुर्घटनाबाट औसत ५ दिनमा १ जनाको मृत्यु हुने गरेको र ७ दिनमा ४ जना घाइते हुने गरेको बताए । उनले जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ८३ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएकोमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २७ जनाको मृत्यु भएको जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपालमा सडक दुर्घटनाका कारण औसत ७ जनाको मृत्यु र ४५ जना घाइते हुने गरेका छन् । त्यस्तै नेपालमा प्रतिवर्ष २ हजार बढीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् ।

mnn.jpg

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सवारी दुर्घटना न्यूनीकरणका लागि एक–अर्कालाई आरोप प्रत्यारोप गरेर नहुने बताए । उनले भने, ‘सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भूमिका रहन्छ । तर, दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला पक्षहरुको जिम्मेवारी रहन्छ । ’

sawari.jpg

उनले सडक मानवीय जीवनका लागि अपरिहार्य पक्ष र विकासको सूचक भएको तर, त्यही सडक मान्छेको मृत्युको कारण बनेको बताए । उनले विद्यालयमा ‘चाइल्ड सेफ्टी फोकलपर्सन’ तोक्नुपर्ने र स्थानीय तहमा ‘ट्राफिक सेफ्टी गाइडलाइन’ बनाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीचालकलाई जिम्मेवार बनाउनैपर्ने बताए । उनले सवारीचालक, सह–चालकलाई सम्मान गर्न आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले कानून अनुसार सवारीचालक अनुमति पत्र (लाइसेन्स) बिना सवारीसाधन चलाउन दिने व्यक्ति पनि दोषी हुने भएकाले विद्यालयका सञ्चालकलाई पनि जिम्मेवार बनाउनुपर्ने बताए । उनले विद्यार्थीहरुको यात्रालाई सुरक्षित बनाउनु विद्यालय सञ्चालको पनि जिम्मेवारी रहेकोमा जोड दिए । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले सवारी दुर्घटनाको प्रमुख कारण सवारीसाधनको तीव्र गति भएको बताए । उनले सवारी दुर्घटना किन बढ्यो भन्ने कुरामा चिन्तित हुँदै यसको न्यूनीकरणका लागि अघि बढेको बताए । 

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा, भैरहवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपक कुमार थापाले सवारीचालकलाई पोशाक दिनुपर्ने बताए । उनले यात्रुको भविष्य बोकेर अघि बढेका सवारीचालकको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य परीक्षण गर्नपर्ने बताए । उनले भने, ‘जीवनको मूल्यको बारेमा बुझ्नुपर्छ ।’

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख हुमाकान्त पाण्डेले सबै जिम्मेवारी ट्राफिक प्रहरीको हो भनेर बुझ्न नहुने बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायभाझीले गाडी तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम हुने बताए । उनले सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोक्न नहुने बताए । अध्यक्ष रायमाझीले सोचमा परिवर्तन गर्न आग्रह गरे । 

के भन्छन् विद्यालयका सञ्चालक तथा संघ–संस्थाका प्रतिनिधि ?

शान्ति नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चालकले ट्राफिक नियम बुझ्नुपर्ने बताए । उनले क्षमता भन्दा बढी विद्यार्थी गाडीमा राख्नु विद्यालयको कमजोरी भएकाले यसमा सुधार गर्दै अघि बढ्न आग्रह गरे । 
नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालय तहबाट जनचेतना बढाउन आग्रह गरे । उनले लेन अनुशासनको पालना हुन नसकेको र गाडी गुड्नुपर्ने स्थानमा मोटरसाइकल गुडेको बताए ।

सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले ट्राफिक नियमबारे विद्यार्थीहरुलाई सचेत गराइएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृत विष्णु प्रसाद बेल्बासेले विद्यालयमै पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले सवारीचालक नियुक्त गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने र प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सिद्दि चिल्ड्रेन एकेडेमीका राजु गुरुङले सवारीसाधन सञ्चालन गर्दा सडकमा केही कठिनाइ रहेको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले सवारीसाधन तीव्र गतिमा चलाउँदा दुर्घटना हुने गरेको बताए । उनले ट्राफिक प्रहरीसँग सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम गर्ने बताए । उनले विद्यालयको सवारीसाधन चलाउने सवारीचालकलाई डे«स कोड लागू गर्न सकिने बताए ।

सि.बि. पब्लिक स्कूलका प्रिन्सिपल उदय कुमार मल्लिकले सडकमा विद्यालयको बसलाई प्राथमिकता दिनुपर्ने बताए । उनले विद्यालयमा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल इङलिस स्कूलका प्रिन्सिपल राजु ढकालले विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले अनुगमनको पाटो कमजोर भएकाले अनुगमनलाई बढाउन आग्रह गरे ।

सेन्ट जोसेफ कलेजका लक्ष्मण अर्यालले छाडा चौपाय व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । उनले ट्राफिक नियम पालनाबारे अभिभावकको पनि चासो हुनुपर्ने बताए ।

लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले सवारीचालक र सह–चालकलाई सम्मान गर्नुपर्ने बताइन् । 

शुभ संस्कार स्कूलका अनमोल मित्तलले विद्यालयको गाडी पछाडी विद्यालयको नम्बर राख्न सके चालकले तीव्र गतिमा गाडी चलाउँदा विद्यालय सञ्चालक, अभिभावकलाई तुरुन्तै खबर गर्न सहज हुने बताए ।

मुनलाइट आवासीय माविका प्राचार्य राजेशराज जोशीले विद्यालयको गाडी विद्यालयमा ढिलो पुग्दा चालकलाई गाली गर्न नहुने बताए । उनले व्यवहारिक पक्षलाई हेर्न आग्रह गरे ।