
शुक्रवार , पौष ६, २०८०
भैरहवा । मायादेवी युवा तथा बौद्धिक समाजले विद्यार्थीलाई चिसोबाट बच्नका लागि न्यानो कपडा (स्विटर) वितरण गरेको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ८ मा रहेको श्री जनचेतना माध्यमीक विद्यालयमा स्विटर वितरण गरिएको समाजका संयोजक तारा प्रसाद जैँसीले जानकारी दिए । संयोजक जैँसीले चिसो मौसममा पनि अध्ययनका लागि सहज होस् भनेर न्यानो कपडा वितरण गरिएको बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले न्यानो कपडा वितरणले जाडो समयमा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई ठुलो राहत भएको बताए ।
चिसो बढ्दै गइरहेको समयमा विद्यार्थीहरुलाई स्विटर वितरण गरेकोमा मायादेवी युवा तथा बौद्धिक समाजप्रति जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसी सुवेदीले धन्यवाद दिएकी थिइन् ।
विद्यालयमा अध्ययनरत ५३ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्विटर वितरण गरिएको समाजका सदस्य प्रशान्त कुँवरले जानकारी दिए ।
शुक्रवार विद्यालयमा आयोजित स्विटर वितरण कार्यक्रममा मायादेवी युवा तथा बौद्धिक समाजका संयोजक तारा प्रसाद जैँसीको अध्यक्षता, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीको प्रमुख आतिथ्यता, मायादेवी गाउँपालिकाका वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाको विशिष्ट आतिथ्यता, श्री जनचेतना मा. वी.का प्रधानाध्यापक तुलसी सुवेदी, वडा सदस्य लक्ष्मण अर्यालको आतिथ्यता रहेको थियो ।
मायादेवी युवा तथा बौद्धिक समाजका सचिव गोविन्द कृष्ण बोगटीको स्वागतमन्तव्य तथा कुल प्रसाद काफ्लेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij