
शुक्रवार , पौष ६, २०८०
बुटवल, ६ पुस ।
उच्च सरकारी वकील कार्यालय बुटवलले शुक्रबार शिक्षक–विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । सरकारी वकील कार्यालयको काम कारवाही, शिक्षक–विद्यार्थीहरुसँगको सहकार्य, कानूनी ज्ञान लगायतका विषयमा सरकारी वकील कार्यालयले अन्तरक्रिया गरेको हो । समुदायमा सरकारीवकील कार्यक्रम अन्तर्गत अन्तक्रिया गरिएको हो ।
त्यसअवसरमा सरकारी वकीलको सांगठनिक संरचना, काम कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व विषयमा जानकारी गराइएको थियो । बुटवल उपमहानगरपालिका–११ स्थित नविन औद्योगिक कदरबहादुर रीता रायमाझी विद्यालयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह–न्यायाधिवक्ता गोविन्दराज गौलीले कार्यालयले सम्पादन गर्दै आइरहेका काम, सांगठनिक संरचना र कानूनी प्रावधानबारे जानकारी गराएका थिए ।
बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र श्रेत्रीले शिक्षक विद्यार्थीहरुका लागि कानूनी ज्ञान अपरिहार्य रहेको भन्दै यस्ता कार्यक्रमले प्रभावकारी उपलव्धि हासिल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बुटवलका उप–न्यायाधिवक्ता रवि न्यौपानेले ‘सरकारी वकीलको सांगठनिक संरचना, काम, कर्तव्य एवं समग्र समुदायप्रति यसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
करिब १६ जना सहभागीहरुबाट सरकारी वकील र सरकारवादी मुद्दा सम्बन्धमा उठाइएका जिज्ञासाहरुको उच्च सरकारी वकील कार्यालय बुटवलका सह–न्यायाधिवक्ता गोविन्दराज गौली, उपन्यायाधिवक्ता रवि न्यौपाने र कानूनी सहायता अधिकृत विष्णु भुषालले विभिन्न रोचक उदाहरणहरुसहित जिज्ञासालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीको तर्फबाट कानून संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थी रुक्सा अर्याल, सोही समूहको कक्षा १२ मा अध्ययनरत विद्यार्थी एवं नविन विद्यार्थी क्लवका अध्यक्ष अमिसन थापा, कानून समूहका इञ्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, विद्यालयका प्राधानाध्यापक प्रेम बहादुर बस्नेत, उच्च सरकारी वकील कार्यालय बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij