२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाको १६ औं साधारणसभा सम्पन्न

शनिवार , माघ २४, २०७७

भैरहवा, २४ माघ ।
नेपाल रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाको १६ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य इस्तियाक अहमद खानले रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाको भवन निर्माणको लागि आफुले जग्गा उपलब्ध गराउने बताए । उनले यस क्षेत्रमा क्रियाशिल अन्य संघ–संस्थालाई पनि छलफल गरेर आवश्यक जग्गा उपलब्ध गराउने बताए । रेडक्रस सोसाईटी स्थापनाकालदेखि नै मानवीय कार्यमा समर्पित भएको उनको भनाइ छ । आफु भन्दा कमजोरलाई सहयोग गर्नुपर्ने उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सभापति संजीब शर्मा रेग्मीले थप जिम्मेवारीपूर्वक अगाडी बढ्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले रेडक्रसलाई बुझेर समाजलाई यसको बारेमा बुझाउनुपर्ने बताए ।

रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले रेडक्रस मानवीय सेवामा लाग्ने संस्था भएको बताए । उनले १ सय जना आजीवन सदस्य बनाउँदा ३० जना महिला अनिवार्य हुनुपर्ने बताए ।

रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दीपक क्षेत्री न्यौपानेले रेडक्रसमा आउनेले मानवीय सेवा गर्ने उद्देश्य लिएर आउनुपर्ने बताए । उनले रेडक्रसप्रति नागरिकको रुची बढ्दै गएको बताए । रेडक्रस सोसाईटी का निवर्तमान केन्द्रीय उपाध्यक्ष प्राध्यापक सुदर्शन नेपालले परिवर्तनलाई आत्मसात गर्दै क्षमताको विकास गर्दै जानुपर्ने बताए ।

रेडक्रस सोसाईटी रुपन्देही शाखाका सदस्य तथा बेलहिया उपशाखाका सभापति शुशिल गुुरुङले जोखिमपूर्ण अवस्थामा रेडक्रसले विभिन्न कार्य गर्दै आएको बताए ।  रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका निवर्तमान सभापति सतिष कुमार चौधरीले रेडक्रस सोसाइटीले धेरै ठाउँमा जनताको मन जित्न सफल भएको बताए । रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका संस्थापक अध्यक्ष गोपालमान राजभण्डारीले रेडक्रसले मानवीय सेवा गर्दै आएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका विशिष्ट सदस्य कुल प्रसाद न्यौपानेले विभिन्न जोखिमको समयमा रेडक्रसले अग्रपंक्तिमा रहेर काम गरेको बताए ।

रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखा आजीवन सदस्य सीता भट्टराईले रेडक्रसमार्फत मानवीय सेवा गर्न पाउँदा खुशीको अनुभुति भएको बताइन्  । रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका सभापति संजीब शर्मा रेग्मीको सभापतित्व, उपसभापति एवं कार्यक्रम संयोजक बसन्त कुमार लाल कर्णको स्वागत तथा सचिव राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रेडक्रस सोसाईटी सिद्धार्थ उपशाखाका विशिष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वार्षिक साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७६ युनिट रगत संकलन भएको सचिव राजेश जि.सी.ले जानकारी दिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।IMG_1846.JPG