
शनिवार , माघ २४, २०७७
बुटवल, २४ माघ ।
रोटरी क्लव अफ बुटवलको १३५० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डा अन्तर्गत शनिबारको बैठकमा बुटवलदेखि पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको विषयमा छलफल भएको छ । बैठकमा सिद्धबाबा केबल कार परियोजनाका बारेमा रोटरीय सृष्टि गुरुङले अवधारणा प्रस्तुत गरेकी थिइन् ।
त्यस अवसरमा उनले ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर पूर्वपट्टीको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाई १ किलोमिटर ९५ किलोमिटर रहने जानकारी दिइन् ।
निर्माणको काम पुरा गरी २ वर्षभित्र सञ्चालन गर्ने गरी अहिले प्रा.लि.ले काम अगाडि बढाएको जानकारी गराउँदै उनले सरकारबाट पूरा गर्ने प्रक्रिया सबै सम्पन्न भइसकेको बताइन् । उनले यसका लागि रोटरीयनहरुलाई लगानी गर्न समेत आह्वान गरिन् ।
‘लिखत रुपमा गर्नुपर्ने र कानूनी रुपमा गर्नुपर्ने सबै कामहरु करिब पुरा गरेका छौं’, उनले भनिन् । केबुलकारको बेस स्टेशन बुटवल मा.वि.को उत्तरपट्टीको शिखर देउराली भन्ने स्थानमा रहने छ भने, टप स्टेशन पाल्पाको नुवाकोट डाँडामा रहनेछ । उनले केबल कारको प्राविधिक पक्षको बारेमा समेत जानकारी गराएकी थिइन् ।
प्रा.लि.ले नुवाकोटमै हिल साईड रिसोर्ट सञ्चालन गर्ने काम एक साथ सुरू गर्ने जानकारी पनि गराएको छ । बैठकमा प्रा.लि.का अध्यक्ष राजेन्द्र सिंह गुरुङले महत्वाकांक्षी योजनाका साथ सुरू भएको सो केवुलकार सञ्चालन भएपछि लुम्बिनी आउने आन्तरिक एवं बाह्य पर्यटकलाई नुवाकोटसम्म ल्याउन सकिने बताए ।
प्रा.लि.का सचिव पिएल श्रेष्ठले पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा पर्यटकहरु आउने र परियोजना सफल हुने दावी गरे । बुटवलको जीतगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृश्यहरु एकैसाथ अवलोकन गर्न सकिनेछ ।
पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको रुपमा रहेको नुवाकोट गढीमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रुद्र सेनले स्थापना गरेको शिवलिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशूल तथा ऐतिहासिक रानीकुवा समेत रहेको छ ।
सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसंगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको इतिहास पाइन्छ ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मणिरत्न पाण्डे, खेमराज पुन, शिवकुमार ज्ञवाली, बोनिन पिया, आमोद सिम्गौडा, बैकेण्ठ कोइराला लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए । बैठकमा क्लबका कोषाध्यक्ष खेम पराजुलीले पनि बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij