२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तिलोत्तमामा दौड सम्पन्न, करिब ४ सयजना सहभागी

सोमवार , पौष ९, २०८०

तिलोत्तमा, ९ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–९ को आयोजनामा ‘युवासँग कुद्छ तिलोत्तमा’ भन्ने नारासहित खुल्ला तिलोत्तमा दौड प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुरसम्मको ७ किलोमिटर दुरी पार गरी विभिन्न ४ समुहका २० जना प्रतियोगिताको उत्कृष्ट स्थानमा परे ।

१२ जनालाई नगदसहित मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको सो खेलमा प्रथम, द्वितीय र तृतीय हुने १५ देखि ४० वर्षका महिला पुरुष समूह र ४० देखिमाथि उमेरका महिला पुरुष समूहबीच भएको प्रतिष्पर्धामा उतारिएको थियो । रामजानकी मन्दिर परिसर सम्झना बाल उद्यानको परिसरमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले खेलमार्फत युवाहरुलाई एकजुट बनाउन यस्तो प्रतियोगिताले सहयोग गर्ने बताए । नगरभित्रका युवाहरुको लागि विभिन्न खाले खेलकुद प्रतियोगिता मात्रै नभएर खेलाडी समेत सम्मान गर्ने र हरेक क्रियाकलापमा नगरपालिका अग्रसर रहेको भन्दै उनले बताए । नगरप्रमुख खाणले युवामैत्री स्थानीय शासनका लागि नगरपालिका होमवर्कमा रहेको बताए ।

त्यस्तै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाहरुको सहभागीताले यस्तो प्रतियोगिताले थप उर्जा पुगेको बताइन् । हरेक फिल्डमा महिला पनि कम छैनन् भन्दै उपप्रमुख चौधरीले दौड प्रतियोगिता जित हार भन्दा पनि युवायुवतीलाई एकसूत्रमा बाध्नका लागि कडी बन्ने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा बोल्दै तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले वडास्तरबाट भएको यस्तो प्रतियोगिता निकै महत्वपुर्ण रहेको बताए । आगामी दिनमा अझै युवा स्तरीय कार्यक्रम लिएर आउने बताउँदै उनले नगरपालिका युवाहरुको हकअधिकार र सहभागीताका लागि अगाडि बढेको बताए ।

वडा नम्बर–९ का अध्यक्ष ध्रुव न्यौपानेले खेल जगतमा युवाहरुले अन्तर्राष्ट्रियस्तरसम्म नेपालको नाम राख्न सफल भएकोले खेलबाटै युवामैत्री शासनयुक्त नगर बनाउने अभियानमा युवाहरुलाई एकजुट बनाउन यस्तो खालको कार्यक्रमको आयोजना गरिएकोबताए ।

प्रतियोगिताका संयोजक तथा वडा सदस्य गोबिन्द गुरुङले सोचेभन्दा बढी सहभागी भएकोले प्रतियोगितामा थप उर्जा मिलेको  बताए ।

समापन समारोहमा स्वागत मन्तव्य राख्दै व्यवस्थापक तथा वडा सदस्य कमल शर्मा रेग्मीले खेलले मानिसलाई स्वस्थ रहन सधै सहयोग गर्ने बताए ।

प्रतियोगितामा करिब ४ सय जना सहभागीता रहेको थियो ।

प्रतियोगितामा १५ देखि ४० वर्षसम्मको उमेर समूहमा पुरुषतर्फ विशाल खड्का प्रथम भए । त्यस्तै विजय चापागाईं द्वितीय, आविस क्षेत्री तृतीय र लेख बहादुर झेंडी मगर चौथो र दिपक विश्वकर्मा पाँचौ भएका छन् ।

त्यस्तै ४० वर्षदेखि माथि उमेरका समूहमा पुरुषतर्फ याम बहादुर डिसुवा प्रथम, हिरा कुमार मानन्धर द्वितीय, ईन्द्र बहादुर थापा तृतीय, यम बहादुर थापा चौथो र धर्म बहादुर पुन पाँचौ भएका थिए ।

त्यसै गरी महिलातर्फ १५ देखि ४० वर्ष उमेर समूहमा प्रकृति घिमिरे प्रथम, रक्षा श्रीस द्वितीय, सरस्वती कुँवर तृतीय, रुचि थापा सान्तवना भएका थिए ।

त्यस्तै ४० वर्षमाथिका उमेर समूह अन्तर्गत महिलातर्फ रामकुमारी गाहा प्रथम, गायत्री सारु द्वितीय, राधिका गौचन तृतीय, कार्यपालिका सदस्य समेत रहेकी राधा शाही ठकुरी चौथो र सिता भुसाल पाँचौ भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः नगद रु ८ हजार ६ हजार र ४ हजारसहित मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सहभागी सबैलाई नगरपालिकाका प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, वडाअध्यक्ष ध्रुव न्यौपाने, गणेश पाठक, देवीलाल पंगेनी, गोपाल घिमिरे, रमेश डुम्रे, हरि बहादुर क्षेत्रीलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

Daud Tilotamma.JPG