२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रामखण्डा पुलको उद्घाटन

शनिवार , माघ २४, २०७७

परासी, २४ माघ । 
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १० मा नवनिर्मित रामखण्डा पुलको एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ । नगरपालिका वडा नम्बर १० को लक्ष्मीपुर र वडा नम्बर ४ जीतपुर गाउँ जोड्ने उक्त रामखण्डा पक्कीपुलको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका हुन । 

रामग्राम नगरपालिकाको आयोजना तथा नगरपालिका वडा नम्बर १० का अध्यक्ष धर्म प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख गुप्ताले उक्त पुलको उद्घाटन गरी पुलको निरीक्षण गरेका हुन ।

पुलको उद्घाटन गर्दै नगरप्रमुख गुप्ताले यस नवनिर्मित पुलको प्रयोगले स्थानीयले प्रत्यक्ष फाइदा लिने विश्वास व्यक्त गरे । उनले पुलमार्फत स्थानीयहरु सहजै आवतजावत गर्न सक्ने र कृषिजन्य कार्यमा निकै सहज हुने विश्वास व्यक्त गरे ।

१ करोड ५७ लाख ७ हजार २२८ रुपैयाँको लागत स्टिमेट रहेको उक्त पालुस्थान निर्माण सेवा सरावलले १ करोड २१ लाख ६८ हजारमा निर्माण गर्ने ठेक्का लिएको छ । जसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ७० प्रतिशत र रामग्राम नगरपालिकाको ३० प्रतिशत लगानी रहेको  नगरपालिकाका इञ्जिनियर सतिश गुप्ताले जानकारी दिए । 

१८ मिटर लम्बाई र ८ मिटर चौडाइमा रहेको उक्त रामखण्डा पक्की पुलको निर्माणसंगै पुलको पश्चिम २०० मिटर बाटो पनि बनाइ ग्रावेल गरिएको छ भने पुलको उत्तर दक्षिण साइड्मा तटबन्ध पनि निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 
अझै नगरपालिकाले उक्त क्षेत्रको बाटो विस्तारका लागि २० लाख रुपैया लगानी गरिरहेको जनाएको छ । त्यस्तै नगरपालिकाले कासीपुर र पोखरापालीमा पनि निर्माण गर्न लागेको ती दुईटा पुलको पनि शिलान्यासको तयारी रहेको जनाएको छ ।   

लामो समयपछि उक्त रामखन्डा पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन । पुलले आवतजावतमा सहज भएसंगै कृषिका कार्य गर्न पनि निकै सहज भएको स्थानीय बताउँछन । पुल नहुँदा सदरमुकाम परासी र पाल्ही बहुमुखी क्याम्पस पुग्न घुमाउरो बाटो प्रयोग गर्न बाध्य थियांै तर यो पुल बनेपछि बाध्यता र समस्या सामाधान भएको स्थानीय गंगा पासीले जानकारी दिएका छन् । 

कार्यक्रममा समयमा पुल निर्माण गरेका पालुस्तान निर्माण सेवाका प्रोपराइटर यम प्रसाद भुसाललाई नगरपालिकाले सम्मान पनि गरेको छ । त्यसैबीच नगरपालिकालाई जग्गा प्रदान गरी सहयोग गर्ने स्थानीय गंगा पासीलाई पनि योगदान गरेवापत सम्मान गरेको छ । उनलाई प्रोत्साहन स्वरुप नगर प्रमुख गुप्ताले व्यक्तिगत रुपमा ५१ सय रुपैयाँ नगद प्रदान गरेका छन् ।  

146663010_791776798088381_2098795444051347125_n.jpgकार्यक्रमका अध्यक्ष धर्म प्रसाद गुप्ता, कार्यक्रम विशिष्ट अतिथि एवं नगर उपप्रमुख रम्भा कुवंर, अतिथि नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मी, वडा ४ का वडाअध्यक्ष मदन यादव, वडा नम्बर ९ अध्यक्ष सुनिल पाठक, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नारायण सुवेदी, उद्योग वाणिज्य संघका महासचिव गिरिराज पाण्डे, नागरिक समाजका पूर्व अध्यक्ष शम्भु प्रसाद उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नगरपालिका लेखापाल संजय शर्माले गरेका थिए ।