२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

राप्रपा युवा नेता बोहरा भन्छन्–पत्रकारको देशप्रतिको जिम्मेवारी बढेको छ

सोमवार , पौष ९, २०८०

  • 853
    Shares
  • 853
    Shares
  • भैरहवा, ९ पुस ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता तथा समाजसेवी प्रज्जवल बोहराले पत्रकारको देशप्रतिको जिम्मेवारी अझ बढेको बताएका छन् । उनले देशलाई बचाउन सशक्त रुपमा अघि बढेर निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरे।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा भैरहवामा आयोजित लुम्बिनी सुपर सिक्सेज कर्पोरेट क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्दै नेता बोहराले यस्तो बताएका हुन् । उनले आफ्नो जिउज्यानको समेत प्रवाह नगरी पत्रकारले समाचार संकलन गरेको बताए । उनले भने, ‘पत्रकार राज्यको चौथो अंग हो, पत्रकारलाई सचेतकको रुपमा मानिन्छ । पत्रकारले समाचार निरन्तर समाजलाई सूसुचित गर्ने कार्य गरेका छन् । ’पत्रकारको शक्ति कलम भएको उनको भनाइ छ ।

    उनले लुम्बिनी प्रेस क्लबले आयोजना गरेको क्रिकेट प्रतियोगिता महत्वपूर्ण कार्यक्रम रहेको बताए । उनले खेलकुदले मानिसको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने बताए ।

    रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराका सुपुत्र समेत रहेका प्रज्जवल बोहराले यस क्षेत्रको विकासमा आफ्ना बुवाको योगदान रहेको बताए । उनले भने, ‘उहाँले यस क्षेत्रको विकासका लागि गरेका कामहरुका कारण पटकपटक जनताले जिताउनुभयो, यसले नै उहाँको योगदान रहेको प्रमाणित गर्छ । उहाँले पचासौं वर्ष यस क्षेत्रको विकासका लागि काम गर्नुभयो । ’उनले इतिहासलाई मेटाउन प्रयास भएको भन्दै इतिहासलाई मेट्न दिन नहुने बताए । 

    युवा नेता बोहराले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि रुपन्देहीमा आगमन भएको र उहाँको कार्यक्रमलाई सफल बनाउन आवश्यक साथ र सहयोग गर्न आग्रह गरे ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले खेलकुदमा अनुशासन आवश्यक रहेको बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले आ–आफ्ना भनाइ राखेका थिए ।
    क्लबका सचिव तथा क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश न्यौपानेको स्वागत तथा महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिद्धार्थनगर-९ स्थित रेडक्रसको जग्गा (खेलमैदान)मा मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा ९ वटा टीमको सहभागीता रहेको छ ।