२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

निष्पक्ष पत्रकारिता आजको आवश्यकता : मन्त्री पाण्डेय

मंगलवार , पौष १०, २०८०

रुपन्देही, १० पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले महिलाले अवसर पाए जस्तोसुकै काम गर्न सक्ने बताएका छन् । नेपाली समाज सकारात्मक सोचका साथ अगाडि बढेको बताउँदै मन्त्री पाण्डेयले सत्तापक्ष, प्रतिपक्ष भन्दा पनि निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताए ।

महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो मुक्तिले १६ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सोमबार आयोजना गरेको ‘उत्साहका १६ औँ वर्ष, मुक्तिका आवाज’ विषयक कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । 

उनले रेडियो मुक्तिले रुपन्देहीको दक्षिणी भेगलाई पनि समेटेर सञ्चारको माध्यमबाट जनतालाई सूसुचित गर्नुपर्नेमा जोड दिए । रेडियो मुक्तिको आवाज केही ठाउँमा सीमित हुन नहुने उनको भनाइ छ । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सञ्चार क्षेत्रमा मात्रै समस्या नभएर देशमा देखिएका विभिन्न खालका समस्या समाधानतर्फ काम गर्न आवश्यक रहेको औल्याए ।

412967382_7010217482379040_6603666235656209700_n.jpg

त्यस्तै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले सञ्चारको विकसित मोडललाई समातेर अगाडि बढ्न आवश्यक रहेको बताइन् । उनले महिला नेतृत्वमा सञ्चार सञ्चालनमा आएपछि विभिन्न समस्याहरु झेल्दै रेडियो १६ औं वर्षसम्म आइपुग्दा समाजमा धेरै सकारात्मक काम गर्न सफल भएको बताइन् । उपप्रमुख अर्यालले अब महिलाका मुद्दा मात्रै नभएर समग्र समाज सुधारका मुद्दा लिएर अगाडि बढ्न आवश्यक रहेको औल्याइन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बुटवलमा महिलाहरुले सञ्चालन गरेको रेडियो उदाहरणीय रहेको बताउँदै समय अनुसार सञ्चार माध्यमलाई परिमार्जित गराउँदै लैजानुपर्ने बताए । 

रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेलले समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको बताइन् ।

‘सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मूल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण सुरु गरेको थियो ।