
मंगलवार , पौष १०, २०८०
भैरहवा, १० पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा साँस्कृतिक भ्रमणका क्रममा हाल रुपन्देहीको भैरहवामा छन् । उनी आइतबार भैरहवा आइपुगेका हुन् ।
यहीबाट उनले कपिलवस्तु, पश्चिम नवलपरासी तथा रुपन्देहीका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
नागरिक अभिनन्दन समारोह मूल समिति रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ ।
समितिका संयोजक डा. रामप्रसाद बस्यालले पुस १४ गते पूर्वराजा शाह कपिलवस्तु पुग्नुहुने बताए । उनका अनुसार औपचारिक कार्यक्रम नरहे पनि त्यस क्षेत्रमा रहेका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा अवलोकन गर्ने रहेको छ । त्यस्तै पुस १७ गते पूर्वराजा पश्चिम नवलपरासी जाने कार्यक्रम रहेको छ । डा. बस्यालले भने, ‘जनता राजालाई स्वागत गर्न आतुर छन् । राजालाई मुलुकको अभिभावकको रुपमा चाहेका हौं, मुलुकमा हिन्दूराष्ट्र पुनःस्थापना गरी संघीयता खारेज गर्नुपर्छ । ’
त्यसै गरी रुपन्देहीमै रहेको निलकण्ठधाम, दर्बाहा मन्दिर, बुटवलको शिव मन्दिर, जितगढी, लगायतको स्थानमा पनि पूर्वराजा पुग्नेछन् ।
त्यस्तै पुस १९ गते साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको समितिका सदस्य सचिव गोपाल शर्माले जानकारी दिए । ‘उहाँको १२–१३ दिनको बसाई रुपन्देहीमा रहनेछ, ’शर्माले भने । पूर्वराजा शाह भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij