
बुधवार , पौष ११, २०८०
भैरहवा, ११ पुस ।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालालाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रुपमा अगाडी बढाउने बताएका छन् । उनले यसको सुरुवात प्रधानमन्त्री कपसँगै भइसकेकोे बताए ।
सिद्धार्थ रंगशालाको निरीक्षण गर्दै उनले केही सामान्य काम बाँकी रहेकोले यो पूरा हुनेबित्तिकै अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिताहरुको आयोजना गर्न सकिने बताए । ‘तपाईहरु ढुक्क रहनुस् नेपालको तेस्रो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रुपमा भैरहवाको खेलमैदान हुनेछ ।’ उनले भने, ‘सम्भवतः २०२४ मै यहाँ अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु हुन सक्छन् ।’
उनले भैरहवा र पोखराका खेलमैदानलाई काठमाडौं बाहिर अन्तर्राष्ट्रिय खेलहरु खेलाउन सक्नेबारे अध्ययन भइरहेको बताए । अध्यक्ष चन्दले रुपन्देही क्रिकेट संघ जसरी सिद्धार्थ रंगशालालाई अगाडी बढाउन लागि परेको छ त्यसअनुसार केही पूर्वाधार बढाए यहाँ निकट भविष्यमै एकदिवसीय खेलहरु हुन सक्ने बताए । ‘अन्तर्राष्ट्रिय खेलहरु खेलाउन केही पूर्वाधारहरु आवश्यक पर्छन्, केही शर्तहरु पालन गर्नुपर्ने हुन्छ । उनले भने, ‘ती सबै पुरा हुनेबित्तिकै हामी यहाँ खेल गराउन पहल गर्छौं ।’
उनले एक–डेढ महिनामै आईसीसीका पदाधिकारीहरु पनि नेपाल आउने र त्यस क्रममा भैरहवा र पोखराका रंगशालालाई प्राथमिकतामा राखी उनीहरुलाई भ्रमण गराउने प्रतिवद्धता जनाए । पुस २७ गते सुरु हुने प्रधानमन्त्री कपको लागि काठमाडौं बाहिर पहिलोपटक भैरहवामा खेलको आयोजना हुनुलाई पनि सुखद मान्न सक्ने उनले बताए ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रधानमन्त्री कपको लागि आफूहरु हौसिएको बताए । खेलमैदानको व्यवस्थापन लगायतमा रुपन्देही क्रिकेट संघको सम्पूर्ण टीम नै लागेको र थप सहयोगको लागि स्थानीय र प्रदेश सरकारको खाँचो रहेको उनले औल्याए । उनले खेलमैदानलाई थप व्यवस्थित बनाउन केही लगानीको आवश्यकता रहेको बताए । यसको लागि स्थानीय तहहरु र प्रदेश सरकारसँग पहल बढाइरहेको उनले जानकारी दिए ।
पुस २७ गतेदेखि सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु भैरहवामा सञ्चालन हुदैछ ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिदै आएको प्रधानमन्त्री कप अन्र्तगतका खेलहरु पहिलोपटक भैरहवामा सञ्चालन हुने भएको हो ।
७ वटा प्रादेशिक टीम र ३ विभागीय टीमहरु गरी १० टीमहरुबीच सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यसवर्ष राउण्ड रोबिन लिगको आधारमा सञ्चालन गरिनेछ । लिग चरणको ८ देखि १० खेलहरु भैरहवा क्रिकेट मैदानमा सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष थापाले जानकारी दिए ।
त्यसैको तयारीको विषयमा अवलोकन गर्न नेपाल क्रिकेट संघका अध्यक्ष चन्द सिद्धार्थ रंगशाला पुगेका हुन् । उनलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, नेपाल एम्पायर एण्ड स्कोरर एशोसिएनका केन्द्रिय अध्यक्ष सत्यजित सरकार, रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री लगायतले स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij