२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

भैरहवामा तमु ल्होसार भव्य रुपमा मनाइँदै

बिहिवार , पौष १२, २०८०

भैरहवा, १२ पुस ।
तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगर, भैरहवाले तमु ल्होसार भव्य रुपमा मनाउने जनाएको छ । परिषद्ले बिहीबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बामा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुबारे जानकारी गराएको हो ।

परिषद्का इकाई अध्यक्ष मोहन सिंह गुरुङले तमु ल्होसार भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको बताए । उनले पुस १४ गते बिहान साढे १० बजे भैरहवाको देवकोटाचोकबाट शान्ति पद यात्रा गरिने बताए । उनका अनुसार शान्ति पत्र यात्राले नगरका विभिन्न स्थानको परिक्रमा गर्नेछ । त्यस्तै पुस १५ गते शान्ति बुद्ध गुम्बामा पूजापाठ तथा मुख्य कार्यक्रम गरिने उनले जानकारी दिए । ‘१५ गते बिहान साढे १० बजेदेखि सुरु हुने कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनेछ, ’उनले भने ।

तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाईकी कार्यसमिति सदस्य सावित्री गुरुङले पुस १४ गते तीनवटा संस्था एकैसाथ भेला हुने र शान्ति पत्र यात्रा निकालिने बताइन् । उनले तमु ल्होसारको अवसरमा खेलकुद कार्यक्रम पनि आयोजना गरिने जानकारी दिइन् । ४८ वर्षको इतिहासमा पहिलोपटक स्मारिका प्रकाशन गर्दैछौं, भाषा, संस्कृति संरक्षण गर्ने हाम्रो उद्देश्य हो । उनले भनिन् । 

नेपाल सरकारका पूर्व सह–सचिव अनिल गुरुङले तमु ल्होसार पर्वको विशेष महत्व रहेको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बौद्ध धर्म भन्दा पनि दर्शन भएको बताए । उनले तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगरले आयोजना गरेको कार्यक्रममाले धर्म संस्कृतिको संरक्षणसँगै शान्ति र सकारात्मक सन्देशको विकास गर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले सबै धर्म संस्कृतिको संरक्षण आवश्यक रहेको बताए । उनले भने, ‘एक धर्मले अर्काे धर्मलाई सम्मान गर्नुपर्छ । ’

पत्रकार सम्मेलनमा शान्ति बुद्ध गुम्बाका अध्यक्ष आश बहादुर गुरुङ, तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगरकी उपाध्यक्ष धर्म कुमारी गुरुङले भनाइ राखेका थिए ।

तमु ल्होसार पर्वको पूर्व संध्यामा तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाईले बुधबार भैरहवाको देवकोटाचोकमा सरसफाई कार्यक्रम गरिसकेको छ । 

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँछन् । पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।