२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

कम साधनस्रोतमा प्रहरी शान्ति सुरक्षा कायम गर्न सफल : गृहमन्त्री पाण्डेय

मंगलवार , पौष १७, २०८०

भैरहवा, १७ पुस ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले कम साधनस्रोतमा पनि नेपाल प्रहरी अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । उनले गृह मन्त्रालय लुम्बिनी प्रदेशले प्रदेशमा रहेका प्रहरी कार्यालयहरुसँग लगातार समन्वय गरिरहेको बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले सोमबार रुपन्देहीको बुटवलमा आयोजना गरेको एकदिवसीय प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८० को उद्घाटन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । कम साधनस्रोत र जनशक्तिका बाबजुद नेपाल प्रहरीले अधिकतम उपलब्धि हासिल गरेको भन्दै उनले अपराध अनुसन्धान र नियन्त्रणका लागि सकारात्मक सोच राखेर अगाडि बढ्न आग्रह गरे ।

उनले प्रहरी कार्यालयका लागि बजेट बिनियोजन गरिएको बताए । मन्त्री पाण्डेयले भने, ‘साईबर क्राइम नियन्त्रण, शान्ति सुरक्षा कायम कायम गर्न र अनुसन्धानलाई निष्पक्ष तरिकाले अगाडि बढाउनका लागि प्रहरीलाई आवश्यक उपकरणका लागि बजेट बिनियोजन गरेका छौं र उपकरण हस्तान्तरण गर्नेछौं ।’

प्रदेश प्रहरी समायोजन पुस महिनाभित्रै हुन गइरहेको र प्रदेशको शान्ति सुरक्षा लुम्बिनी प्रदेशको गृह मन्त्रालयले पूर्ण रुपमा हेर्ने जानकारी दिए । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले प्रहरी निष्पक्ष तरिकाले अघि बढ्नुपर्नेमा जोड दिए । उनले कुनै पनि पद भनेको अस्थायी भएको र हामी सबै नागरिक हौं भन्ने बुझेर पीडित मैत्री सेवा प्रदान गर्न आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । ‘पर्यटकको कुनै जात, धर्म हुँदैन । पर्यटकलाई सहजताका साथ नेपाल ल्याउने वातावरण सिर्जना गरौं । मन्त्री पाण्डेयले भने, ‘प्रकृतिले नै नेपाललाई पर्यटनको राष्ट्र बनाइदिएको छ । यसको व्यवस्थापन गर्दै बढी संख्यामा पर्यटक भित्र्याउन सके मुलुक आर्थिक रुपमा सम्पन्न हुन्छ । ’ 

WhatsApp Image 2024-01-01 at 10.03.41 AM (1).jpeg

त्यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले साईबर अपराध, क्रिप्टो करेन्सी लगायतका आधुनिक अपराधहरु पहिला केन्द्रमा मात्रै भए पनि अहिले जिल्लामै हेर्ने गरी व्यवस्थापन भएको जानकारी दिए । यसको लागि समयअनुसार प्रहरीमा पनि दक्षता हासिल गरिरहनुपर्ने आवश्कयता रहेको उनले औल्याए । 

त्यसै गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशीले अपराध अनुसन्धान विषयमा धेरै व्यक्तिहरुको अनुभवबाट शिक्षा लिइ त्यसमा थप अध्ययन गरी आफ्नो ज्ञान सीपलाई फराकिलो बनाउँदै जानु जरुरी रहेको बताए ।