२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पत्रकारका लागि एक साताभित्र राहत प्याकेज घोषणा गर्ने सरकारको तयारी 

आइतवार , माघ २५, २०७७

काठमाडौं, २५ माघ । 
सरकारले एक हप्ताभित्र पत्रकारका लागि राहात प्याकेज ल्याउने तयारी गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । कोभिड–१९ लगायत विविध समस्यामा परेका पत्रकारका लागि आगामी एक हप्ताभित्र राहत प्याकेज घोषणा गर्ने अन्तिम तयारी भइरहेको बताउँदै मन्त्री गुरुङले श्रमजीवि पत्रकार ऐन तत्काल लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

संचार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको ‘आमसंचार तथा श्रमजीवि पत्रकार’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारका लागि कोभिड–१९¬ विरुद्धको खोप दोस्रो चरणको कार्यक्रममा समावेश गरिएको पनि बताए । 

कार्यक्रममा मन्त्री गुरुङले पत्रकारहरुको प्रेस कार्ड नविकरण पाँच वर्षमा गर्नका लागि कार्यविधि बनाएर काम थाल्ने र  साथै पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक र मर्यादित बनाउन पत्रकारका लागि पनि प्रशिक्षण प्रतिष्ठानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे । 
पत्रकारका लागि पनि सेना, प्रहरी र निजामति कर्मचारीलाई जस्तै प्रशिक्षण दिन आवश्यक रहेको भन्दै मन्त्री गुरुङले समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने चर्चा गरे । सरकारले सरोकारवालासँग छलफल गरी छिट्टै तालिमको समेत व्यवस्था गर्ने सोंच अघि सारिएको उनले बताए । 

संचार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा पत्रकारिता क्षेत्रका के कस्ता विषयवस्तु र कार्यक्रम समेट्नुपर्छ भन्ने विषयमा छलफल गरेको हो । कार्यक्रममा पत्रकार महासंघका भूतपूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी र संचार क्षेत्रका विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।